
काठमाडौं । फिल्म निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काले ‘प्रेमगीत’का तीनवटा श्रृंखलामा सहकार्य गरिसकेका छन् । तर, ‘प्रेमगीत ३’पछि उनीहरूबीच मनमुटाव उत्पन्न भएको खबर बाहिरिएको थियो । एक वर्षअघि एक अन्तर्वार्तामा निर्माता सेन स्वयंले ‘बलिदान’का लागि प्रदीपसँग कुरा गर्न खोज्दा ‘रेस्पोन्स’ नै नआएको गुनासो गरेका थिए ।
तर, अब भने सन्तोष र प्रदीपबीच पुनः फिल्ममा सहकार्य हुने भएको छ । त्यसको संकेत मंगलबार सन्तोषले प्रदीपसँग गाडीमा खिचेका केही तस्बिर सामाजिक सञ्जालमा सेअर गर्दै दिएका छन् । उनले लेखेका छन्, ‘बाघ, बिरालो, म्याउ–चिउ जे जस्तोसुकै होस् कसैको भर छैन । हामी मैदानमा उत्रिएपछि कसैलाई निराश बनाउँदैनौँ । त्यो चाहिँ ढुक्क छ ।’
फिल्मीखबरले मंगलबारको भेटबारे बुझ्न खोज्दा निर्माता सेनले प्रदीपसँग नयाँ फिल्ममा सहकार्य गर्न लागेको पृष्टि गरे । उनले भने, ‘हामी फेरि सहकार्य गर्ने तयारीमा चाहिँ छौँ । तर, त्यो फिल्म कुन हुन्छ भन्ने यकिन भइसकेको छैन । ‘प्रेमगीत ४’ बनाउने कि नयाँ फिल्म भन्नेमा हामी छलफलमै छौँ । फिल्मले मूर्तरुप लिन अझै केही समय लाग्न सक्छ ।’
अहिले फिल्मका लागि दुईवटा आइडियामा छलफल भइरहेको उनको भनाइ छ । ‘एउटा ‘प्रेमगीत’जस्तो विशुद्ध लभस्टोरीको आइडिया आएको छ । अर्को प्रेमकथा र सामाजिक विषयमा फिल्म बनाउने कि भन्ने पनि कुरा भइरहेको छ । अहिले हामी यिनै दुई आइडियामा लेखकसँग छलफल गरिरहेका छौँ । जुन आइडिया मनपर्छ, त्यसमै फिल्म बनाउनेछौँ,’ सेनले भने ।
उनले नयाँ फिल्म आफैँ निर्देशन गर्ने सोचमा नभएको पनि स्पष्ट पारे । उनले भने, ‘म अब ४−५ वर्ष फिल्म निर्देशन गर्दिनँ होला । नयाँ फिल्ममा अरु नै निर्देशक हुन सक्छन् । तर, अहिले निर्देशकभन्दा पनि महत्त्वपूर्ण कुरा कथा हो । कथा तयार भएपछि निर्देशकबारे सोच्नेछौँ ।’ उनका अनुसार यस वर्ष कथा लेखन सकाएर आगामी वर्षको मध्यतिर छायांकन सुरु गर्ने तयारी छ ।

