
काठमाडौं । अभिनेता अर्पण थापाको निर्देशन तथा अभिनय रहेको फिल्म ‘फ्रेन्च किस’ माघे संक्रान्तिको अवसर पारेर माघ १ गते (१५ जनवरी)बाट प्रदर्शनमा आउने भएको छ । आइतबार फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पारेको छ ।
फिल्मका मुख्य जोडी अर्पण थापा र थिन्ले ल्हामोलाई केन्द्रमा राखिएको टिजरमा उनीहरू एकअर्काप्रति आकर्षित भएको देखाइएको छ । काठमाडौंका विभिन्न मठमन्दिरदेखि तालसम्म उनीहरू रमाउँदै घुमिरहेका देखिन्छन् । टिजरको अन्त्यमा भने दुवैबीच चर्काचर्की परेको छ । यसले आधुनिक प्रेमको क्षणिक आकर्षण र अस्थिरतालाई चित्रण गरेको छ ।
अर्पण थापा फिल्म प्रोडक्सन (एटीएफ)को ब्यानरमा निर्माण भएको फिल्ममा अर्पण र थिन्लेसहित रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायतका कलाकारको अभिनय छ । फिल्मको कार्यकारी निर्मातामा सौगात बस्नेत तथा सह–निर्मातामा सुभाष बी. शाही र कान्तिपुर फिल्म एकेडेमी छन् । फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् ।
निर्देशक थापा स्वयंको लेखन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, रदीप श्रेष्ठको ध्वनि संयोजन, मनोरञ्जन श्रेष्ठ र कुनाल कुँवरको रंग संयोजन तथा दीपक बज्राचार्य र कमल राईको पार्श्व संगीत छ । फिल्ममा नयाँ पुस्ताको प्रेमकथालाई फरक ढंगले प्रस्तुत गरिएको जनाइएको छ । फिल्मले दर्शकलाई आधुनिक प्रेमकथाको अनुभूति गराउने निर्माण पक्षको विश्वास छ ।

