
काठमाडौं । गत वर्ष फिल्म ‘परान’ले घरेलु बजारमा लोभलाग्दो कमाइ गर्यो । प्रदर्शनको पाँच दिन दर्शक नहुँदा हलबाटै उत्रने अवस्थामा पुगेको फिल्मले बिस्तारै सकारात्मक ‘वर्ड अफ माउथ’ पाउन थालेपछि पहिलो साताको अन्त्यबाट व्यापारिक रफ्तार बढाएको थियो । त्यसपछि फिल्मले करिब तीन साता बक्स अफिसमा सुनामी नै ल्यायो ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको छ । यो २०८२ सालको सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म हो । शनिबार फिल्म प्रदर्शनको एक वर्ष पूरा भएको उपलक्ष्यमा निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कलाकार, प्राविधिक र पत्रकारलाई मायाको चिनो प्रदान गर्यो ।
उक्त कार्यक्रममा निर्माण पक्षले सिक्वेल घोषणा गर्न सक्ने धेरैको अनुमान थियो । तर, न सिक्वेल घोषणा भयो न नयाँ फिल्म । फिल्मका निर्माता रञ्जित आचार्यले दर्शकजस्तै आफूलाई पनि ‘परान २’ बन्छ कि बन्दैन भन्ने जिज्ञासा रहेको बताए । उनले भने, ‘फिल्मको सिक्वेल आउँछ कि आउँदैन भन्ने जिज्ञासा सबैलाई छ । मलाई पनि त्यही जिज्ञासा छ ।’
कार्यक्रममा निर्माता आचार्यले सिक्वेल निर्माणको घोषणा नगरे पनि उनको टिम त्यसको तयारीमा जुटिसकेको स्रोतको दाबी छ । तर, ‘परान २’भन्दा अघि नयाँ फिल्म निर्माण हुने जनाइएको छ । त्यसमा अहिलेका एक चर्चित अभिनेताको अभिनय रहने चर्चा छ । यद्यपि, फिल्मको नाम र कलाकारबारे निर्माण पक्षले केही खुलाएको छैन ।
‘परान’लाई रञ्जितले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा समूहका अध्यक्ष शेखर गोल्छासँग मिलेर निर्माण गरेका हुन् । शेखरको यो पहिलो निर्माण हो । ‘परान’ प्रदर्शनमा आउनुअघि नै उनले अब निरन्तर फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । यसका लागि शेखर र रञ्जितले ‘बाइस्कोप सिनेमा प्रालि’ नामक फिल्म निर्माण कम्पनी स्थापना गरेका छन् ।

