Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उपासना र सोनम अभिनीत ‘जलाकी’को ट्रेलरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/10/30

Upasana Singh Thakuri | Sonam Topden

 

काठमाडौं । ‘खुश्मा’का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु प्रस्ट पार्ने प्रयास गरेको छ । कलेज जीवनको प्रेमकथामा केन्द्रित ट्रेलरमा सम्बन्धका उतारचढाव र भावनात्मक द्वन्द्वलाई देखाइएको छ ।

ट्रेलरको केन्द्रमा फिल्मका मुख्य जोडी उपासना सिंह ठकुरी र सोनम तोप्देन छन् । दुवै एउटै कलेजमा पढ्छन् । उनीहरूबीच प्रेम अंकुराएको छ । तर, आर्थिक अभावका कारण सोनम परदेशिन बाध्य भएपछि उनको पर्खाइमा बसेकी उपासना कस्तो मानसिक अवस्थाबाट गुज्रिन्छिन् ? ट्रेलरले मुख्यतः यही कथा देखाएको छ । ट्रेलरमा उपासनाको अभिनय सशक्त देखिन्छ ।

मंसिर ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा उपासना र सोनमसहित शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्क बहादुर पुन, लुनिभा तुलाधरलगायतका कलाकारहरूको अभिनय छ । फिल्ममा अभिनेता विजय लामा विशेष भूमिकामा छन् । 

निर्देशक मगर स्वयंको लेखन तथा सम्पादन रहेको फिल्ममा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, बेताने मगर (बबिता राना), सुस्मिता बुढाथोकी र राधा थापा निर्माताको रूपमा छन् । फिल्मले मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको छ ।