
काठमाडौं । बलिउडमा हरेक फिल्मसँगै कमाइ र रेकर्डको चर्चा हुन्छ । तर, केही कलाकार भने बक्स अफिसलाई भन्दा फिल्मको कथालाई बढी महत्त्व दिन्छन् । त्यसमा अभिनेत्री श्रद्धा कपूर पनि पर्छिन् । कथामा चुजी भएकै कारण उनका फिल्म दुई वर्षमा एउटा मात्र आउने गरेका छन् । सन् २०२४ मा रिलिज भएको ‘स्त्री २’पछि उनका कुनै फिल्म आएका छैनन् ।
अब नयाँ फिल्म ‘ईठा’मार्फत पर्दामा देखिन लागेकी श्रद्धाले शुक्रबार ट्रेलर सार्वजनिक कार्यक्रममा आफूले कम फिल्म खेल्नुको कारणबारे प्रस्ट्याइन् । उनले आफूले कहिल्यै पनि कमाइको आँकडालाई ध्यानमा राखेर फिल्म नखेल्ने बताइन् । उनी भन्छिन्, ‘मेरो लागि फिल्म राम्रो हुनु र दर्शकलाई कथा मनपर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’
आफ्नो लागि व्यापारभन्दा कथाले महत्त्व राख्ने भएकाले दुई वर्षमा एउटा फिल्म खेल्ने गरेको उनको भनाइ छ । भन्छिन्, ‘म कहिल्यै पनि सोच्दिनँ कि मैले कयौं रेकर्ड तोडेको छु या बक्स अफिसमा केही ठूलो उपलब्धि हासिल गरेको छु । मैले त्यस्तो केही गरेको छैन । मेरो लागि राम्रो फिल्मले मात्र अर्थ राख्छ । यही कारण पनि कहिलेकाहीँ म दुई वर्षमा एउटा फिल्म खेल्ने गर्छु ।’
आफूले कुनै पनि फिल्मलाई महिला वा पुरुषप्रधानको दृष्टिकोणले नहेर्ने उनी बताउँछिन् । उनका अनुसार फिल्म उद्योगलाई महिला वा पुरुष केन्द्रितभन्दा पनि राम्रा कथाको आवश्यकता छ । त्यस्ता कथा निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ । फिल्मलाई महिला र पुरुषका आधारमा वर्गीकरण गर्नु साँघुरो सोच भएको उनको तर्क छ ।
आगामी ४ डिसेम्बर (४ मंसिर)मा रिलिज हुने ‘ईठा’मा श्रद्धाले महाराष्ट्रकी तमाशा सम्राज्ञी तथा लावणी कलाकार विठाबाई नारायणगावकरको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा संगीत, नृत्य र एक कलाकारको संघर्षलाई देखाइएको छ । लक्ष्मण उतेकरको निर्देशनमा बनेको फिल्ममा श्रद्धासहित मोहम्मद जीशान अय्यूब र सिद्धार्थ जाधवको पनि मुख्य भूमिका छ ।

