
अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ भाइटीकाको भोलिबाट प्रदर्शनमा आउने भएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै कात्तिक २६ गते (१२ नोभेम्बर)लाई फिल्मको नयाँ प्रदर्शन मिति तय गरिएको हो । यसअघि फिल्मलाई दसैंमा रिलिजको तयारी गरिएको थियो । तर, दसैंमा रिलिजको चाप उच्च भएपछि फिल्मलाई तिहारमा सारिएको हो ।
फिल्मलाई दसैंमा रिलिज नगर्नुको कारणबारे प्रस्ट्याउँदै भुवनले भनेका छन्, ‘यसअघि दसैँको अवसरमा प्रदर्शनमा आउने वाचा गरे पनि दसैँमा अन्य चार फिल्म पनि प्रदर्शनमा आउने र थप अर्को फिल्म पनि आउँदा पर्दाको बाँडफाँडमा समस्या आउने प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै हामीले नयाँ मितिमा प्रदर्शन गर्ने निधो गरेका हौँ ।’
फिल्मको सार्वजनिक पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल मुद्रामा देखिएका छन् । अनमोलको लुक्सले ५० को दशकको झल्को दिन्छ । पृष्ठभूमिमा बलिरहेको लाल्टिन र आकाशको टहटह जूनले उनीहरूको सम्बन्धमा रहेको आत्मीयतालाई दर्शाएको छ । पोस्टरले फिल्म ग्रामीण परिवेशको प्रेमकथामा आधारित रहेको संकेत गर्छ ।
सानराइज पिम्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन् । विवेक थापा सह-निर्मातामा छन् । सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा अनमोल र प्रिन्सीसहित भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटीलगायतको अभिनय छ ।

