.jpg)
गत शुक्रबार (१२ भदौ)मा प्रदर्शनमा आएको फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार फिल्मले पहिलो १० दिनमा १ करोड ५८ लाख ८४ हजार १३६ रुपैयाँ ग्रस कमाइ गरेको छ । भदौ २१ गतेसम्म फिल्मका ५४ हजार ७३५ वटा टिकट बिक्री भएका छन् ।
‘पार्वती’ले प्रदर्शनको १० दिनमै डेढ करोडको आँकडा पार गर्दा अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘मास्टर्नी’ले भने १७ दिनमा १२ हजार १९७ वटा टिकट बिक्रीबापत ४० लाख १५ हजार १९९ रुपैयाँ ग्रस कमाएको छ । फिल्मको यो कमाइ ‘पार्वती’को भन्दा झन्डै ४ गुणाले कम हो । ‘मास्टर्नी’ले पछिल्लो सात दिनमा ६२ हजार ३४० रुपैयाँ मात्र कमाएको देखिन्छ ।
गत साउन १ गते प्रदर्शन भएको फिल्म ‘गौँथली’को व्यापार भने २६ करोड नजिक पुगेको छ । बोर्डको तथ्यांकअनुसार फिल्मले २१ भदौ (आइतबार)सम्म २५ करोड ८६ लाख २८ हजार ६१५ रुपैयाँ ग्रस कमाएको छ । यस अवधिमा फिल्मका कुल ९ लाख ३० हजार ७४४ वटा टिकट बिक्री भएका छन् । ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्म बनिसकेको छ ।
बोर्डले साउन २२ मा प्रदर्शन भएको फिल्म ‘हली’को पनि बक्स अफिस विवरण सार्वजनिक गरेको छ । आइतबारसम्म फिल्मको कुल कमाइ २३ लाख ३२ हजार ४७० रुपैयाँ ग्रस पुगेको छ भने ८ हजार ५२५ वटा टिकट बिक्री भएका छन् । अघिल्लो आइतबारसम्म २३ लाख ११ हजार २७० रुपैयाँ कमाएको फिल्मले पछिल्लो सात दिनमा २१ हजार २०० रुपैयाँ मात्र जोडेको छ ।

