
वेब सिरिज ‘मिर्जापुर’को सफलतापछि त्यसकै कथालाई विस्तार गर्दै निर्माण भएको फिल्म ‘मिर्जापुर’ले भारतीय बक्स अफिसमा धूम मच्चाएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले तीन दिनमै सय करोड नजिक व्यापार गरिसकेको छ । फिल्मको तीन दिनको व्यापार भारु ९३ करोड ७५ लाख नेट रहेको भारतीय मिडियाले जनाएका छन् ।
२ सय ५० करोडको बजेटमा निर्माण भएको फिल्मले हिन्दी भर्सनमा २७ करोड ७५ लाखको ओपनिङ गरेको थियो । दोस्रो दिन ४ करोड २५ लाख बढोत्तरीसहित ३२ करोड कमाएको फिल्मले तेस्रो दिन ३६ करोड कमाइ गर्यो । सोमबार (आज)को व्यापारबाट फिल्मले एक सय करोडको आँकडा पार गर्नेछ । फिल्मको ग्रस कमाइ भने भारतमा ११२ करोड पुगिसकेको छ ।
फिल्मले भारतसँगै विदेशमा पनि आकर्षक कमाइ गरिरहेको छ । आइतबार ७ करोडसहित तीन दिनमा फिल्मले विदेशबाट भारु २० करोड ग्रस कमाएको ट्रेड पोर्टल स्याकनिल्कले जनाएको छ । योसँगै फिल्मको विश्वव्यापी कमाइ १३२ करोड ३५ लाख ग्रस पुगेको छ । फिल्मको ‘वर्ड अफ माउथ’ बलियो रहेकाले विश्वव्यापी कमाइ तीन सय करोड पार हुने अनुमान गरिएको छ ।
गुरमीत सिंहको निर्देशनमा बनेको फिल्ममा पंकज त्रिपाठी, अली फजल, दिव्येन्दु, श्वेता त्रिपाठी, श्रिया पिलगांवकर, रवि किशन, जितेन्द्र कुमार, कुलभूषण खरबन्दालगायतका कलाकारहरूको अभिनय छ । फिल्मले सत्ता संघर्ष, बदला, ग्याङवार, पारिवारिक दुश्मनी र विश्वासघातलाई मुख्य विषय बनाएर मिर्जापुरको गद्दीका लागि हुने संघर्षको कथा प्रस्तुत गरेको छ ।

