.jpg)
यही शुक्रबार (१९ भदौ)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले काठमाडौं प्रिमियरमा ५ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाएको छ । बाढीपीडितको सहयोगार्थ बुधबार काठमाडौंको सुन्धारास्थित क्यूएफएक्स हलमा आयोजित च्यारिटीसहितको प्रिमियरमा फिल्म हेरेका दर्शकले ५ मिनेटसम्म टिमको सम्मानमा उभिएर ताली बजाएका थिए ।
फिल्मको प्रिमियरमा कलाकारहरू मनीषा कोइराला, करिष्मा मानन्धर, ऋचा शर्मा, केकी अधिकारी, उषा रजक, नाजिर हुसेन, दिव्य देव पन्त, रिस्ता बस्नेत, गरिमा शर्मा, निर्देशकहरू नवीन सुब्बा, प्रदीप भट्टराई, दीपेन्द्र लामा, रेनशा वान्तवा राई, प्रतिनिधि सभा सदस्य तथा गोल्ड स्टार कम्पनीकी प्रमुख विदुषी राणालगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको छ । जंगली हात्तीको आतंकलाई यौनिक तथा अल्पसंख्यक समुदायको पीडासँग जोडेर फिल्मले संवेदनशील सामाजिक विषयलाई सशक्त ढंगले पर्दामा उतारेको फिल्मकर्मीहरूको प्रतिक्रिया थियो । फिल्म हेरेर प्रतिनिधि सभा सदस्य विदुषी राणा भावुक समेत भएकी थिइन् ।
अभिनेत्री मनीषा कोइरालाले नेपालले यति राम्रो फिल्म बनाएकोमा आफूलाई गर्व महसुस भएको बताइन् । उनले भनिन्, ‘यति संवेदनशील र राम्रो विषयमा फिल्म बनेको छ । हरेक कलाकारको काम सशक्त छ । निर्देशन र छायांकन पनि उत्तिकै राम्रो छ । म सम्पूर्ण नेपालीलाई के भन्न चाहन्छु भने यस्तो फिल्मलाई हामीले अझ धेरै सहयोग र माया गर्नुपर्छ ।’
.jpg)
अभिनेत्री करिश्मा मानन्धरले फिल्मको दृश्यभाषाको प्रशंसा गर्दै फिल्मलाई साहसिक र अर्थपूर्ण सिर्जनाको संज्ञा दिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘नेपाली फिल्मको समकालीन यात्रामा ‘एलिफेन्ट्स इन द फग’ले एउटा फरक, गम्भीर र उल्लेखनीय आयाम थपेको अनुभूति हुन्छ ।’ फिल्मले कथा सुनाउँदै प्रश्न पनि जन्माउने उनको भनाइ छ ।
विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ‘जुरी प्राइज’ अवार्ड जितेको यस फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको छ ।

