Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाको ‘मास्टर्नी’को टिजरले कथाबारे के संकेत गर्छ ?

फिल्मीखबर, काठमाडौं, 2026/07/26

Priyanka Karki

 

अभिनेत्री प्रियंका कार्कीको अभिनय तथा निर्माण रहेको फिल्म ‘मास्टर्नी’को टिजर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक १ मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । आफ्नी छोरीका लागि एउटी आमाले गरेको संघर्षलाई टिजरमा मर्मस्पर्शी ढंगले चित्रण गरिएको छ । फिल्ममा प्रियंकाले आमाको भूमिकामा अभिनय गरेकी छन् । 

टिजरको सुरुवात जंगलमा एक महिलाको हत्या भएको दृश्यबाट हुन्छ । लगत्तै प्रियंकाको ‘भ्वाइस ओभर’ सुन्न सकिन्छ, जहाँ उनले आफ्नो लागि छोरीको सुरक्षा नै सबैभन्दा ठूलो कुरा रहेको बताएकी छन् । यसपछि टिजरमा देखिने आमा–छोरीको भावनात्मक सम्बन्ध, प्रहरी अनुसन्धान र एसिड आक्रमणजस्ता दृश्यले फिल्मको कथा रहस्यमय हत्यामा आधारित रहेको संकेत दिन्छ ।

शुभेन्द्र घोषको निर्देशनमा बनेको यस फिल्ममा प्रियंकासहित आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, दीपाश्री निरौलालगायतका कलाकारहरूको अभिनय रहेको छ । आयंका फिल्म्सको ब्यानरमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले फिल्मको निर्माण गरेका हुन् ।  

आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्मको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा (प्रियंकाकी आमा) र सिमोस सुनुवार हुन् । प्रियंका स्वयंको कथा रहेको फिल्मको पटकथा शान बस्नेतले लेखेका हुन् । संवाद भने प्रियंका र शानको हो । युवराज इन्दोरियाको छायांकन रहेको फिल्मलाई राजा सिंह सिदुले सम्पादन गरेका छन् ।