(1).jpg)
अभिनेता सौगात मल्लले अभिनय गरेका ‘लुट र कबड्डी’ बाहेक प्रायः फिल्म असफल छन् । तर, फिल्मको असफलताले उनको करिअरमा भने कुनै असर परेको छैन । यसैले पनि उनलाई ‘फ्लप फिल्मको हिट हिरो’ भन्ने गरिन्छ । जीवन्त अभिनय गर्न सक्ने खुबीकै कारण उनी हरेक मेकरको रोजाईमा पर्ने गरेका छन् । उनले वर्षमा ५/७ वटासम्म फिल्ममा अभिनय गर्दै आएका छन् ।
करिअरको सुरुवाती समयमा हरेक फिल्ममा भिन्न-भिन्न चरित्रमा प्रस्तुत भएका सौगात पछिल्लो समय भने एकैखाले चरित्रमा बढी रमाएका छन् । पैसामुखी र साथीभाईले ल्याएको जस्तोसुकै फिल्मको प्रस्ताव स्वीकार गर्ने बानीका कारण उनले चरित्रमा विविधता पस्कन नसकेको कतिपयको आरोप छ । उनी आफैं पनि साथीभाईको फिल्मले कहिले काहिँ अप्ठ्यारोमा पारेको स्वीकार गर्छन् ।
मंगलवार फिल्म ‘मन्त्र’को एक कार्यक्रममा सौगातले भनेका छन्, ‘कति फिल्म साथीभाईहरु अप्ठयारोमा पर्दा गर्दिएको छु । कति साथीहरुले राम्रो फिल्म पनि बनाएका छन् । कहिले काहिँ साथीभाईबाटै अप्ठ्यारो पर्ने गर्छ त कहिले काहिँ राम्रो काम पनि भइरहेको हुन्छ । साथीभाईबाट आफूलाई पनि बेला मौकामा सहयोग मिल्ने भएकाले आफूले पर्दा पनि सहयोग गर्ने गरेको छु ।’
तर, हरेक फिल्ममा आफूलाई फरक-फरक काम गर्न इच्छा लाग्ने सौगातको भनाई छ । ‘हरेक फिल्ममा भिन्न-भिन्न चरित्रमा काम गर्ने इच्छा हुन्छ नै । हुने वा नहुने चाहिँ फरक कुरा हो । तर, आफ्नो तर्फबाट कोशिश रहिरहन्छ । एउटै खालको क्यारेक्टर गर्दागर्दा आफैंलाई पनि दिक्क लागेको हुन्छ । मैले काम गरिसकेका केही फिल्ममा भने फरक चरित्र लाग्न सक्छ,’ उनले भने ।

