
चैत ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हेल्लो जिन्दगी’मा समावेश ‘कता कता’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर, एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता विक्रम डि जोशी र अभिनेत्री दीपिका प्रसाईं रोमान्टिक अवतारमा देखिएका छन् ।
बलिउडका चर्चित कोरियोग्राफर बिष्णु देवाले कोरियोग्राफी रहेको गीतलाई बेलायतको विभिन्न ठाउँमा खिचिएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्ममा विक्रम र दीपिकाको साथै प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ ।
सत्य घटनाबाट प्रभावित फिल्मको निर्मातामा विक्रम डि जोशी र हिराल जोशी छन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सबिता गुरुङ छिन् । फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई विक्रम डि जोशीले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले मिलेर तयार पारेका हुन् । ‘हेल्लो जिन्दगी’मा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

