Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलाई धेरै फिल्म होइन, क्वालिटीको फिल्म खेल्नु छ : दीया पुन

फिल्मीखबर, काठमाडौं, 2022/03/09
फिल्म ‘वीर विक्रम’बाट नेपाली फिल्म क्षेत्रले पाएको एक कुशल अभिनेत्री हुन्, दीया पुन । पहिलो फिल्ममा नै आफ्नो अब्बल अभिनय क्षमता देखाएकी उनले त्यसयता ‘मिस्टर झोले’, ‘दयारानी’, ‘मन्त्र’ लगायतका केही सीमित फिल्ममा मात्र अभिनय गरिन् । गाउँले चरित्रमा फिट मानिने उनी नेपालभन्दा बढीजसो बेलायतमा बस्ने भएकाले पनि अभिनयमा खासै सक्रिय हुन सकेकी छैनन् ।
 
पेशाले नर्स रहेकी दीया लामो समयपछि पर्दामा फर्किने तयारीमा छिन् । उनी अभिनीत फिल्म ‘मन्त्र’ आउँदो बैशाख १६ गतेबाट प्रदर्शनमा आउँदैछ । सगरमाथा आरोहण गर्नका लागि यसै साता नेपाल आएकी उनलाई मंगलवार फिल्मको टिमले राष्ट्रिय झन्डा र फिल्मको पोस्टर हस्तान्तरण गर्दै बिदाई गरेको छ । उनी फिल्मको प्रचार-प्रसार डिजिटल माध्यमबाट गर्ने योजनामा रहेकी छन् ।
 
deeya pun
 
‘मन्त्र’मा निर्वाह गरेको क्यारेक्टर आफूलाई एकदमै मन परेको दीया बताउँछिन् । नेपाल आए लगत्तै फिल्म हेरेकी उनी आफूले सोचेकोभन्दा राम्रो बनेकोमा खुसी देखिएकी छन् । दर्शकलाई पनि फिल्मले सन्तुष्ट दिनेमा उनी विश्वस्त छिन् । ‘वीर विक्रम’पछि उनले अभिनय गरेको यो दोस्रो फिल्म हो । यद्यपि, ढिलै भएपनि फिल्म प्रदर्शन हुन लागेकोमा उनी उत्साहित देखिएकी छन् ।
 
उनी आफूलाई धेरै फिल्म खेल्नुभन्दा क्वालिटीको फिल्ममा काम गर्न मन लाग्ने बताउँछिन् । ‘हरेक फिल्ममा एउटै क्यारेक्टर गर्नु राम्रो हुँदैन । मैले प्रायः फिल्ममा गाउँले चरित्र निर्वाह गरेकाले त्यस्तो खालको क्यारेक्टर भयो भने मेकरहरुले मलाई सोच्नु हुँदो रहेछ । तर, करिअरमा आफ्नो क्षमता बढाउन फरक क्यारेक्टर गर्नु पर्छ । यसैले पनि मैले धेरै फिल्म गरेको छैन,’ उनले भनिन् ।
 
उनले हिमाल आरोहण गर्नु आफ्नो सौख रहेको पनि बताएकी छन् । यसअघि मनास्लु हिमाल र अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवाको आरोहण गरिसकेकी दीयाले तीनवटा सामाजिक कार्यका लागि ‘फन्ड’ जुटाउन सगरमाथाको आरोहण गर्न लागेकी हुन् । दुई वर्षदेखि यूकेमा कमाएको पैसा (करीब ४० लाख) मा सगरमाथा चढ्न लागेको उनको भनाई छ ।
Most Visited News (monthly)