हरेक फिल्ममा आफ्नो चरित्र र अभिनयमा फरकपन पस्किन सिपालु मानिने अभिनेत्री सुरक्षा पन्त फेरि एकपटक भिन्न चरित्रमा देखिँदैछिन् । जारी प्रथामाथि आधारित भएर निर्माण भएको फिल्म ‘बुलाकी’मा उनले दुर्गम गाउँको अति विपन्न एक महिलाको भूमिका निर्वाहा गरेकी छन् । मंगलवार निर्माण टिमले सार्वजनिक गरेको फर्स्टलुकमा देखिएको उनको लुक्सले यही बयान गर्छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा सुरक्षाले ऊनको पछ्यौलीले शिर ढाकेकी छन् भने नाकमा बुलाकी लगाएकी छन् । उनको अनुहारमा पीडा र निराशा घोलिएको छ । उनको यो भिन्न लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता जगाउनेमा दुईमत छैन । फिल्ममा कर्णाली भेगको जनजीवन, रितिथिति तथा संस्कृतिलाई समेटिएको बताइएको छ ।
लक्ष्मण सुनारको निर्देशन तयार भएको फिल्मलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्वर्गीय मोति बिष्टको प्रस्तुति रहेको फिल्म डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा खिचिएको हो । फिल्ममा सुरक्षासँगै नरेन्द्र खड्का, बिराज बिष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री लगायतले अभिनय गरेका छन् ।
छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा सौगात कँडेल सह-निर्माता रहेको ‘बुलाकी’लाई शिव ढकालले छायांकन गरेका हुन् । फिल्मको कथा निर्देशक लक्ष्मण सुनार आफैंले लेखेका हुन् । फिल्मका गीतमा गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । केही समयमा फिल्मको टिजरका साथै प्रदर्शन मिति पनि सार्वजनिक गरिने निर्माता टोपेन्द्रले जानकारी दिएका छन् ।

