
नेपाली फिल्मका लभ बर्डस् सौगात मल्ल र सृष्टि श्रेष्ठ विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् । दुई वर्षयता एकसाथ बस्दै आएका उनीहरु कोरोना महामारीले देशलाई नगाँजेको भए विवाह बन्धनमा बाँधिसकेका हुने थिए । कोरोना महामारीअघि सौगात सृष्टिको माता-पितासँग बिहेको कुरा गर्न यूके समेत गएका थिए । दुवै पक्षको परिवारले उनीहरुलाई विवाहको अनुमति दिइसकेको छ ।
हालै एक अन्तर्वार्तामा सृष्टिले आउँदो वर्ष २०७९ मा विवाह गर्ने योजना रहेको बताएकी थिइन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा सौगातले पनि सृष्टिको कुरामा सहमति जनाएका छन् । कोरोना महामारीका कारण विवाहमा ढिलाई भएको बताउँदै उनले अब भने बिहेको तयारी भइरहेको बताए । अर्को वर्ष वा यसै वर्ष पनि बिहे हुने सम्भावना रहेको उनको भनाई छ ।
उनले भने- ‘सृष्टिले ‘विवाहको तयारीमा छौं’ भनेको कुरा सत्य हो । हामी २ वर्षदेखि नै विवाहको तयारीमा थियौं । तर, कहिले के नमिल्ने त कहिले के नमिल्ने भएर ढिलाई भएको हो । परिवारबाट विवाहको स्वीकृति भइसकेको छ । हामीले अर्को वर्ष नै विवाह गर्ने भनेर तयारी त गरेका छैनौं तर यसै वर्षको अन्तिमसम्म पनि विवाह हुन सक्छ । यस वर्ष नभए अर्को वर्ष चाहिँ विवाह हुन्छ ।’
प्रेम सम्बन्धमा गाँसिएपछि सौगात र सृष्टिले फिल्ममा एकसाथ काम गर्दै आएका छन् । उनीहरुले ‘मासु भात’, ‘लालपूर्जा’, ‘पोइ पर्यो काले’, ‘द सिक्रेट अफ राधा’, ‘माइकल अधिकारी’ लगायतका फिल्ममा एकसाथ काम गरिसकेका छन् । सृष्टिले अभिनय गरेको एक नाटक हेर्न जाने क्रममा सौगातको उनीसँग चिनजान भएको थियो । यो भेटपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए ।

