
अभिनेता द्वय पल शाह र पुष्प खड्काको करिअरको सुरुवात लगभग एकै समयमा भयो । उनीहरु म्यूजिक भिडियो पृष्टभूमिबाट फिल्ममा आएका हुन् । एकअर्काका प्रतिस्पर्धी मानिने उनीहरुको भावनात्मक सम्बन्ध भने अत्यन्त प्रगाढ छ । एकअर्काको फिल्म प्रदर्शन हुँदा दुवैले खुलेरै साथ दिने गरेका छन् । यसैले उनीहरुको मित्रतालाई फिल्म क्षेत्रमा उदाहरणको रुपमा लिने गरिन्छ ।
यतिबेला पल एक नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा छन् । फिल्म क्षेत्रभित्र पल प्रकरणमा कित्ताकाँट भइरहेको छ । एउटा समुह पलको समर्थनमा बोलिरहेको छ भने अर्को समुहले नाबालिगलाई समर्थन गरेको छ । पुष्पलाई भने दुवै निर्दोष साबित भइदिए हुन्थ्यो भन्ने लाग्छ । घटना अदालतको हातमा पुगिसकेकाले अब कानुनले नै निर्णय गर्ने उनी बताउँछन् ।
आइतवार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा निकै संयमित भएर उनले भनेका छन्, ‘मलाई लाग्छ यो एकदमै सेन्सेटिभ केश हो । उनीहरुबीच प्रेम भएको देखिन्छ । त्यसबीचमा कस्तो खालको उतार चढाव आयो र किन सम्बन्ध विग्रियो त्यो उहाँहरुको व्यक्तिगत कुरा हो । म दुवैलाई शुभकामना दिन चाहन्छु । मेरो विचारमा दुवै निर्दोष साबित भइदियोस् । त्यही नै राम्रो हुनेछ ।’
पुष्पले पल शाहसँगको मित्रताबारे पनि अगाडि भनेका छन्, ‘उसमा (पल) म आफूलाई पाउँथे, सायद उसले पनि ममा आफूलाई पाउँथ्यो होला । हामी दुवै म्यूजिक भिडियो पृष्टभूमिबाट आएका हौं । हामीले थुप्रै कामहरु सँगै पनि गर्यौं । पारिवारिक सम्बन्ध पनि राम्रो थियो । सबै कुरा राम्रो थियो तर नघट्नु पर्ने घटना घटेको छ । अहिलेको अवस्थामा यो विषयमा मौन बस्नु नै ठीक होला ।’

