Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चिसो एष्ट्रे’बाट आत्मानुभूति गर्ने अवसर पाएँ : सृष्टि श्रेष्ठ

फिल्मीखबर, काठमाडौं, 2022/03/07
‘मिस नेपाल’ को उपाधि जितेपछि फिल्म ‘गाजलु’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सृष्टि श्रेष्ठले ‘बाँध मायाले’, ‘रोमियो एन्ड मूना’, ‘पोइ पर्‍यो काले’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । पर्दाभित्र वा पर्दाबाहिर दुवैमा शिष्ट र शालिन देखिने उनी करीब तीन वर्षपछि पर्दामा देखिने तयारीमा छिन् । उनी अभिनीत नयाँ फिल्म ‘चिसो एष्ट्रे’ आगामी चैत ४ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
shristi shrestha
 
यो फिल्मबाट आफूले आत्मानुभूति गर्ने अवसर पाएको उनको भनाई छ । आइतवार पत्रकारहरुसँगको भेटघाटको क्रममा उनले भनिन्, ‘म आफूलाई भाग्यमानी ठान्छु कि शालिनता जस्तो चरित्र निर्वाह गर्न पाएँ । शालिनताको माध्यमबाट मैले धेरै कुरा सिकेको छु । आत्मानुभूति गर्ने अवसर पाएँ । मेरो क्यारेक्टरले काठमाडौंको क्रियटिभ गल्ली र क्रियटिभ एक्सपेक्टलाई प्रतिनिधित्व गर्छ ।’ 
 
फिल्ममा हरेक क्यारेक्टरको एउटा गल्ली रहेको र आफूले पुतली गल्लीको प्रतिनिधित्व गरेको उनी बताउँछन् । फिल्मबाट आफूले जीवनलाई थप नजिकबाट जान्ने र बुझ्ने अवसर पाएको बताउँदै उनी भन्छिन्, ‘हामी अरुलाई कस्तो व्यवहार गर्छौं, सकारात्मक कुराहरुलाई कति ध्यान दिने गर्छौं, प्रायः हामी नकारात्मक मात्र देख्छौं तर जीवनमा सुन्दरता पनि छ भन्ने कुरा फिल्मबाट सिकेँ ।’ 
 
कलाकारको रुपमा आफूले ‘चिसो एष्ट्रे’मा जत्ति मेहेनत हरेक फिल्ममा गर्नुपर्छ भन्ने ठूलो पाठ सिकेको उनको कथन छ । ‘यत्तिको टिमवर्क, क्यारेक्टरमा यत्तिको रिसर्च र ध्यान चाहिँ दिनै पर्ने रहेछ भन्ने सिक्न पाएँ । यो फिल्मबाट सिकेको कुरालाई मैले आत्मसात् गरेर अगाडि बढाइरहेको छु । ‘चिसो एष्ट्रे’बाट सिकेका कुराहरु म जीवनमा कहिल्यै विर्सन सक्दिनँ,’ अभिनेत्री सृष्टि श्रेष्ठले भनिन् ।
 
shristi shrestha
 
दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा सृष्टिसँगै दिव्य देव, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल, रबिन तामाङलागयतको अभिनय रहेको छ । गाउँबाट सहर (काठमाडौं) आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने विषयलाई फिल्मले उठाएको छ । महेशबाबु तिमल्सिनाद्वारा निर्मित फिल्म भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताबाट प्रभावित छ । 
Most Visited News (monthly)