
लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका कलाकार पुकार गौतमले संख्यात्मक रुपमा धेरै फिल्ममा अभिनय गरेका छैनन् । सात समुन्द्र पारीको देशमा भएकाले उनलाई नेपालमा बस्ने अन्य कलाकारहरु जस्तो अभिनयलाई नै पेशा मानेर हिँड्ने अवस्था छैन । तर, बेला मौकामा नेपाल आएको समयमा वा अष्ट्रेलियामा छायांकन हुने नेपाली फिल्ममा भने उनले अभिनय गर्दै आएका छन् ।
फिल्म ‘झिल्के’ र ‘ह्यापी न्यु इयर’ मा काम गरिसकेका गौतमको नयाँ फिल्म ‘पर्पला’ प्रदर्शनको पखाईमा छ । अष्ट्रेलियामै छायांकन भएकाले उनले यो फिल्ममा अभिनय गर्ने अवसर पाएका थिए । उनी यो फिल्मले आफ्नो करिअर उठाउनेमा आशावादी छन् । आफूले मेहनत गरेअनुसार फिल्म राम्रो बनेको र ‘पर्पला’ को टिम पनि राम्रो भएकाले काम गर्न सजिलो भएको उनी बताउँछन् ।
‘पर्पला’को प्रदर्शनपश्चात् आफ्नो अभिनय क्षमतालाई मुल्यांकन गरेर अरु निर्माताहरुले फिल्मको अफर गरे नेपाल आएर काम गर्ने उनको योजना छ । अष्ट्रेलिया बसे पनि नेपाली कला क्षेत्रको मोहलाई विर्सन नसकेको बताउने उनी रोमान्टिक जनरामा आफूलाई एकदमै सजिलो लाग्ने बताउँछन् । आफ्नो कामको समय मिलाएर नियमित नेपाली फिल्म हेर्ने गरेको पनि उनले बताएका छन् ।
उनी भन्छन्, ‘अष्ट्रेलिया नआएर नेपालमा नै बसेको भए नेपाली कला क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बनाउन सकिन्थ्यो जस्तो लाग्छ । तरपनि समय मिलाएर फिल्ममा अभिनय गरिरहेकै छु । दाजुबाट प्रभावित भएर कलाकारितामा आएको थिएँ । यसैले अभिनयप्रति मेरो बेग्लै खालको लगाब छ । भविष्यमा आफैं फिल्म निर्माण गर्ने सोचमा पनि छु ।’ उनको नेपाल घर चितवन हो ।

भानु प्रतापको निर्माणमा बनेको ‘पर्पला’लाई मनोज अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा गौतमसँगै निखिला बुढाथोकी, रोजी पन्त, अष्ट्रेलियन कलाकार ओल्गा तमरालगायतको अभिनय रहेको छ । अष्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले छायांकन गरेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । हरर जनरामा निर्माण भएको फिल्मलाई अर्को वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

