.jpg)
गायन र अभिनय दुवैमा जमेका कलाकार हुन्, रविङ तामाङ । वजनदार आवाजका धनी उनले अभिनय गरेको नयाँ फिल्म ‘चिसो एष्ट्रे’ आउँदो चैत ४ गते (होलीको भोलीपल्ट) बाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनको अभिनय मात्र नभइ गीतमा आवाज पनि छ । उनकै शब्द तथा संगीत रहेको फिल्मको शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरियो ।
अंग्रेजीमा गाइएको ‘चिसो एष्ट्रे’ बोलको गीतले युवाहरुको जीवन शैलीलाई अभिव्यक्त गरेको छ । गीत सार्वजनिक कार्यक्रममा तामाङले फिल्मले देखाउन खोजेको कुरालाई गीतले सार संक्षेपमा व्यक्त गर्ने प्रयास गरेको बताए । ‘दिनेश (निर्देशक) ले बनाएको फिल्मलाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु,’ रविङले भने ।
.jpg)
दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका छ । गाउँबाट सहर (काठमाडौं) आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने विषयलाई फिल्मले उठान गरेको छ । निर्देशक पाल्पालीका अनुसार, भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताबाट फिल्म प्रभावित रहेको छ ।
दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको फिल्मको सह-निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् । फिल्ममा उज्जल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन छ ।

