
अभिनेता पल शाह प्रकरणमा नाबालिगलाई राज्य र समाजले संरक्षण गर्नुपर्छ भन्दै फेसबुकमा स्टाटस लेखेका रेखा थापा, ऋचा शर्मा लगायतका अभिनेत्रीहरुलाई एक कथित महिला अभियन्ताले अन्तर्वार्ताको नाममा युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । रेखा थापाकी दिदी तारा राणाले शुक्रवार साइबर ब्यूरोमा उजुरी दिएकी हुन् ।
साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालले तथानाम गाली गरेको भन्दै तारा राणाले निवेदन दिएको र अहिले अध्ययन भइरहेको जानकारी दिए । मानमर्दन र गाली बेइज्जती गरेको भन्दै रेखाकी दिदीले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध उजुरी दिएकी हुन् । वाइबा तिनै हुन्, जसले दमौलीका डिएसपीलाई पललाई रिहा नगरे बलात्कारको आरोप लगाउने बताएकी थिइन् ।
बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा दमौली प्रहरी कार्यालय अगाडि नाराबाजी हुनुका साथै नाबालिगको चरित्र हत्या गर्ने क्रियाकलाप बढेपछि रेखासहितका विभिन्न अभिनेत्रीहरुले फेसबुकमा स्टाटस लेख्दै १८ वर्षभन्दा मुनीका नाबालिगसँग सहमतिमै शारीरिक सम्बन्ध राखेको भएपनि बलात्कार ठहरिने भएकाले नाबालिगलाई राज्यले संरक्षण गर्नुपर्ने तर्क राखेका थिए ।

