नाम चलेका कलाकारहरुको ठूलो जत्था रहेको आशातित फिल्म ‘लप्पन छप्पन २’ भोली शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ । विदेशका विभिन्न ठाउँहरुमा छायांकन भएको फिल्मले पैसा र राजनीतिकको कथा भनेको छ । प्रदर्शनको पूर्वसन्ध्यामा निर्माण टिमले बिहीवार राजधानीको बिग मुभिजमा आयोजना गरेको प्रिमियरमा फिल्मकर्मीहरुले मेकिङ र एक्सन पक्षको प्रशंसा गरे ।
.jpg)
निर्माता अर्जुन कुमारले हेरिरहेको फिल्मभन्दा आफूलाई अलग लागेको बताए । ‘हामीले प्रायः एउटै खालको फिल्म हेरिरहेका हुन्छौं । यो अलि फरक छ । दर्शकलाई फिल्म फ्रेस लाग्न सक्छ । समग्रमा भन्दा फिल्म पैसा असुल छ,’ उनले भने । अभिनेता नरेन खड्काले फिल्मको मेकिङ र एक्सन राम्रो रहेको प्रतिक्रिया दिँदै अभिनेता अर्पण थापाको अभिनय निकै मन परेको बताए ।
त्यस्तै, कमेडियन हिमेश पन्तले फिल्मको मेकिङ क्वालिटीको प्रशंसा गरे । उनले पनि अर्पण थापाको अभिनय पराएका छन् । ‘अर्पण थापा दाईको ‘सेन्स अफ ह्यूमर’ र कमेडी मन पर्यो । धेरैपछि हलमा फिल्म हेर्न आएको थिएँ, राम्रो लाग्यो,’ उनले भने । फिल्मको वितरक समेत रहेका गोविन्द शाहीले फिल्म मनोरञ्जनको प्याकेज रहेको र दर्शकलाई निराश नबनाउने बताएका छन् ।
फिल्ममा मुख्य भूमिकामा रहेका र प्रिमियरमा प्रशंसा कमाएका अर्पण थापा फिल्म हेरेर धेरै हदसम्म सन्तुष्ट देखिए । ‘फिल्मले मनोरञ्जन दिएको नै पाएँ । खासै कन्फ्यूजन छैन । स्टाइलिस फिल्म हो । नेपालको ‘केजीएफ’ यस्तै त होनी । इन्डियाको अलि फरक हुन्छ, नेपालको यस्तै हो । ८/१० वर्षपछि अझ माथि चढिन्छ होला । यत्तिको फिल्मलाई प्याकेजको भन्न मिल्छ,’ उनले भने ।
.jpg)
फिल्ममा मुख्य भूमिकामा रहेका शक्ति श्रेष्ठले आफूले गरेको अपेक्षा फिल्मले पूरा गरेको बताए । दर्शकलाई पनि फिल्म मन पर्नेमा उनी विश्वस्त देखिएका छन् । अष्ट्रेलियामा बस्दै आएका उनी यही फिल्मको प्रदर्शनका लागि नेपाल आएका हुन् । उनी अभिनेता शिव श्रेष्ठका छोरा हुन् । फिल्ममा शिव श्रेष्ठको पनि अभिनय रहेको छ । उनले नयाँ चिज खोज्ने दर्शकलाई फिल्म मनपर्ने बताए ।
फिल्ममा बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डाले पनि अभिनय गरेकी छन् । ‘लप्पन छप्पन २’ को प्रचार-प्रसार र प्रिमियरमा सहभागी हुन यसै साता नेपाल आएकी उनी प्रिमियरमा आकर्षणको केन्द्रविन्दू बनेकी थिइन् । नेपाली भाषा नबुझ्ने उनले आफूलाई फिल्म राम्रो लागेको प्रतिक्रिया दिएकी छन् । नेपालका भेट्रान कलाकारहरुसँग काम गर्न पाउँदा खुसी लागेको उनको भनाई छ ।

निर्देशक मुकुन्द भट्टले फिल्ममा हुनुपर्ने सबै खुराक रहेको बताउँदै दर्शकलाई मन पर्नेमा विश्वस्त देखिए । उनी भन्छन्, ‘फिल्ममा मैले केही चिज नयाँ गर्न खोजेको छु । फिल्ममा हुनुपर्ने हरेक चिजहरु राखेको छु जस्तो लाग्छ ।’ फिल्म ‘लाखे’ को छायांकनका लागि मुस्ताङमा रहेका फिल्मका दुई मुख्य अभिनेता सौगात मल्ल र अनुपविक्रम शाही भने प्रिमियरमा उपस्थित हुन सकेनन् ।

