.jpg)
करिअरको उत्कर्षमा रहँदा लिड हिरोको रुपमा देखिने गरेका अभिनेता शिव श्रेष्ठको उमेरसँगै भूमिकामा पनि परिवर्तन आएको छ । फिल्म ‘डाँडाको बरपीपल’ मा गाउँको निम्न वर्गीय पुरुषको भूमिकामा देखिएका उनी फिल्म ‘प्रेमगीत ३’ मा राजामा भूमिकामा देखिँदैछन् । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लप्पन छप्पन २’ मा भने उनको भूमिका भ्रष्ट राजनीतिज्ञको छ ।
यो फिल्मबाट अभिनेता श्रेष्ठले ठूलो आश बोकेका छन् । उनी भन्छन्, ‘४० वर्षको करिअरमा मैले ‘लप्पन छप्पन २’ मा जुन रोल पाएको छु, त्यो अत्यन्त मन परेको छ । फिल्ममा निकै मज्जाको रोल छ मेरो । फिल्ममा एकसेएक कलाकारहरु छन् । मलाई खुसी लागेको छ कि यति राम्रो कलाकारहरुको भीडमा म पनि मिसिन पाएको छु । यो फिल्मबाट मलाई केही होला कि भन्ने आश छ ।’
शिव श्रेष्ठले ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्टको काम गर्ने शैलीको पनि प्रशंसा गरेका छन् । ‘मैले आजका दिनसम्म धेरै निर्देशकहरुसँग काम गरेँ । मुकुन्दको काम गर्ने शैलीबाट म प्रभावित छु । मुकुन्द जस्तो निर्देशक फिल्म क्षेत्रलाई आवश्यक छ । फिल्म त जसले पनि बनाउँछ तर मुकुन्दले जुन प्रकारले फिल्म बनाउनु भएको छ त्यसको प्रशंसा गर्नैपर्छ,’ अभिनेता श्रेष्ठले भने ।
मुकुन्द भट्ट निर्देशित फिल्ममा शिवका अलावा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारहरुको अभिनय रहेको छ । पैसा र शक्तिको कथामा निर्माण भएको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

