
भारतीय फिल्म उद्योगको सबैभन्दा ठूलो कम्पनीमध्ये एक टि-सिरिज र रिलायन्स इन्टरटेनमेन्टले विभिन्न विषयका १० वटा फिल्म निर्माणमा व्यवासयिक सहकार्य गर्ने भएको छ । यी दुई कम्पनीबीच फिल्ममा करीब हजार करोड लगानी गर्ने सम्झौता भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । जसअन्तर्गत ठूला बजेटका फिल्मसँगै सामाजिक विषयमाथि पनि फिल्म निर्माण हुनेछ ।
दुवै निर्माण कम्पनीद्वारा जारी विज्ञप्तिमा तमिल, बायोपिक, स्पाई थ्रिलर, रोमान्स ड्रामा, कमेडी र वास्तविक घटनामा आधारित फिल्म निर्माण गरिने उल्लेख छ । भूषण कुमारको टि-सिरिज र भारतका धनाड्य अनिल अम्बानीको रिलायन्स इन्टरटेनमेन्टले सयौं फिल्म र म्यूजिक भिडियोमा लगानी गरिसकेको छ । यी कम्पनीले कमर्शियल र आर्ट दुवै खालका फिल्म बनाउँदै आएका छन् ।
टि-सिरिज र रिलायन्सको सम्झौताको सुरुवात दक्षिण भारतीय फिल्म ‘विक्रमवेधा’ को हिन्दी रिमेकबाट हुनेछ, जसमा ऋतिक रोशन र सैफ अली खानले मुख्य भूमिका निर्वाह गर्दैछन् । भारतमा पहिलो पटक मुम्बईका दुई ठूला स्टूडियोले मिलेर फिल्म बनाउने फैसला लिएका हुन् । आइतवार टि-सिरिजका भूषण कुमार र रिलायन्सका शिबाशीष सरकारबीच सम्झौता भएको हो ।

