
सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाको समुहमा छायांकनको अनुमति दिएसँगै फिल्म निर्माण हुने क्रम विस्तारै बढेको छ । यसैक्रममा आइतवारबाट फिल्म ‘चिठ्ठी’ को छायांकन सुरु भएको छ । काभ्रेको दोलालघाटमा मुहूर्त गर्दै फिल्मको दृश्य खिच्न सुरु गरिएको हो । माधवराज खरेलले निर्देशन गरिरहेको फिल्मको दोलालघाटपछि काठमाडौंमा छायांकन हुनेछ ।
सस्पेन्स कमेडी कथामा बन्ने फिल्ममा सन्जित भण्डारी मुख्य नायकको भूमिकामा छन् । फिल्म ‘लम्फू’ बाट अभिनय करिअर सुरु गरेका उनले गत महिना साउनमा फिल्म ‘आँधी तुफान २’ को छायांकन पूरा गरेका थिए । ‘चिठ्ठी’ मा उनको जोडी नव-अभिनेत्री कन्चन चालिसेसँग बाँधिएको छ । फिल्ममा आफ्नो भूमिका सशक्त रहेको र दर्शकलाई फरक र नौलो लाग्ने उनको विश्वास छ ।
कमला जोशी र राजन थापाको संयुक्त निर्माण रहने यस फिल्ममा श्रीदेव भट्टराई, नम्रता खरेल, मोहन निरौला, शान्ति प्रिय, गोपाल ढकाल ‘छन्दे’, खड्ग बहादुर पुन मगर, मुस्कान लामा, पुष्कर राउत, अस्मिन कार्की लगायतका कलाकारहरुको पनि अभिनय देख्न पाइनेछ । यसै वर्ष प्रदर्शनको लक्ष्य राखिएको फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्देशक खरेलले बताए ।

