फिल्म ‘जात्रा’ बाट निर्देशकिय यात्रा सुरु गरेका प्रदीप भट्टराईले निर्देशनमा आफूलाई प्रमाणित गरिसकेका छन् । ‘शत्रु गते’ र ‘जात्रा’ सिरिजले उनलाई कमेडी फिल्म निर्देशनमा एक अब्बल निर्देशकको रुपमा चिनायो । उनी निर्देशित तीनै फिल्मले सिनेमा घरमा सफलतापूर्वक ५१औं दिन मनाए । जसले गर्दा उनको नाम नेपाली फिल्मको सफल निर्देशकको रुपमा आउने गरेको छ ।
२०७६ सालमा प्रदर्शित फिल्म ‘जात्रै जात्रा’ पछि उनी निर्देशनमा फर्किएका छैनन् । लकडाउनअघि उनी ‘महजोडी’ सँग सहकार्य गरेर नयाँ फिल्म बनाउने तरखरमा थिए । तर, अहिलेसम्म उक्त फिल्मको छायांकन सुरु हुन सकेको छैन । कोरोना महामारीले थला परेको फिल्म क्षेत्रलाई उठाउन उनी जस्ता निर्देशक तात्नु पर्ने हो ? तर, यो समयमा चल्तीका निर्देशकहरु नै मौन झैँ छन् ।

निर्देशक भट्टराईले कोरोना महामारीको समयमा फिल्म दिन नसकेकोमा दर्शकसँग माफी मागेका छन् । उनले फिल्मीखबरसँग भने, ‘हामीले दर्शकहरुलाई अन्याय गरिरहेका छौं । सहज परिस्थिति हुँदा हामीले दर्शकलाई ‘फिल्म हेर्न आइदिनुस्’ भन्ने गर्थ्यौं । आज ‘बाहिरको फिल्म हेर्दै गर्नुस्’ भन्नुपर्ने जुन परिस्थिति बनेको छ, त्यसका लागि म दर्शकसँग साँचिक्कै माफी माग्न चाहन्छु ।’
फिल्ममेकरले जस्तो परिस्थिति छ त्यसैमा बसेर भए पनि दर्शकका लागि फिल्म बनाउन सक्नुपर्ने उनको तर्क छ । उनी उदाहरण दिँदै भन्छन्, ‘एउटा अफिसको व्यक्तिले कुनै होटलमा महिनामा पैसा तिर्ने गरी खाना खाइरहेको छ भने कुनै पनि बहानामा त्यो व्यक्तिलाई आज बाहिर खाना खाऊ म पसल खोल्न सक्दिन भन्न पाइँदैन । हामीले अहिले त्यस्तै परिस्थितिको सृजना गरेका छौ ।’
यो कुरा बुझेर आफू चाँडै केही न केही गर्ने तयारीमा रहेको उनले बताए । यूट्युबका लागि सर्ट फिल्म बनाउन लागेको जानकारी दिँदै उनले भने, ‘यो समयमा दर्शकलाई सर्ट फिल्म भए पनि दिउँ भन्ने लागेर त्यसको तयारीमा छु । दशैंअघि २ वटा सर्ट फिल्म यूट्युबमा सार्वजनिक हुनेछ,’ उनले भने । फिचर फिल्मको भने स्थिति सामान्य भएपछि छायांकन सुरु गर्ने तयारीमा उनी छन् ।

