अनमोल केसी अभिनीत फिल्म ‘गाजलु’ बाट फिल्म निर्माणमा होमिएका रोहित अधिकारीलाई पहिलो प्रयासमै सफलता मिल्यो । यो फिल्मबाट अनमोलको स्टारडम उचाइँमा पुगेको थियो भने रोहितले पनि राम्रो नाफा कमाए । यसपछि उनले दोस्रो पटक हेमराज विसीसँग सहकार्य गर्दै फिल्म ‘द ब्रेकअप’ निर्माणको घोषणा गरे । तर, छायांकनकै क्रममा उनले फिल्मबाट हात झिके ।
त्यसपछि उनले २०७६ सालमा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहसँग सहकार्य गरेर फिल्म ‘छ माया छपक्कै’ निर्माण गरे । यो समुहले मुनाफाको ठूलो हिस्सा लिने सर्तमा पहिलो पटक बाहिरी ब्यानरसँग सहकार्य गरेको थियो । फिल्मले बक्सअफिसमा आक्रामक कमाई गर्यो । यसपछि रोहित पुनः दीपक-दीपाको टिमसँग मिलेर यही फिल्मको सिक्वेल बनाउने तयारीमा थिए ।
.jpg)
तर, स्क्रिप्ट बलियो नभेटेकाले ‘छ माया छपक्कै’ को सिक्वेल तत्काल नबन्ने भएको छ । यसअघि निर्माता अधिकारी दोस्रो पटक दीपक-दीपाको समुहसँग मिलेर नयाँ फिल्म निर्माण गर्ने तयारीमा जुटेका छन् । अहिले एक चर्चित निर्देशकले स्क्रिप्ट लेखिरहेको र स्क्रिनप्ले राम्रो भए दशैं र तिहारको बीचमा छायांकन हुने उनले बताए । फिल्मको स्क्रिप्ट दीपकराज गिरीलाई राम्रो लागेको छ ।
‘लकडाउनभन्दा अगाडिदेखि नै दीपक दाईसँग निरन्तर छलफल भइरहेको छ । कुराहरु निकै अगाडि बढेका छन् । दीपक दाईले स्क्रिप्ट मन पराउनुभएको छ । अहिले हामी स्क्रिनप्ले कस्तो आउँछ भनेर पखाईमा छौं । किनकि, स्क्रिनप्ले बलियो नभएसम्म फिल्म राम्रो बन्दैन,’ रोहितले भने । फिल्म मल्टीस्टारर हुने र दीपाश्री निरौलाको पनि मुख्य भूमिका रहन सक्ने उनको भनाई छ ।
लकडाउनअघि निर्माता अधिकारीको निर्देशक दिनेश राउतसँँग एक लभस्टोरी फिल्मका लागि कागजी सम्झौता भएको थियो । उक्त फिल्मको अफर अनमोल केसीलाई गरिएको छ । उनी फिल्मलाई लिएर सकारात्मक भए पनि काम गर्ने वा नगर्ने विषयमा निधो दिइसकेका छैनन् । किस्ताबन्दीको कोरोना महामारीका कारण फिल्मको काम अगाडि बढ्न नसकेको रोहितले बताए ।

