किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’ अभियान अन्तर्गत रहेर गरेको फिल्म मेकिङ कार्यशालामा भाग लिएका १० किशोरीले एक महिना सिकेकै भरमा उम्दा फिल्म बनाएर देखाएका छन् । उनीहरुले दुई हप्तामा फिल्म तयार गरेका हुन् । शुक्रबार चलचित्र विकास बोर्डको सभा हलमा उनीहरूले बनाएका फिल्म हेर्दा परिपक्व फिल्म मेकिङको आभास हुन्थ्यो ।
शुक्रबार १० जना किशोरीले एक महिने फिल्म मेकिङ कार्यशाला अन्तर्गत बनाएका ५ फिल्मको प्रदर्शन गरिएको थियो । ‘वुमन मेक फिल्मस्’ शीर्षकमा गरिएको यो तालिमलाई अस्कर इन्टरनेसनल कलेज र चलचित्र विकास बोर्डले पनि सघाएका थिए । ५ फिल्मको लम्बाई (लेन्थ) औसतमा ५ मिनेट थियो । एक महिने कार्यशाला गत साउन ३ गतेदेखि भदौ ३ गतेसम्म चलेको थियो ।

महिला सम्बन्धि ‘स्टेरियोटाइप’ चिर्न र फिल्म मेकिङमा महिलाको सहभागिता बढाउने उद्देश्यले कार्यशालाको आयोजना गरेको आयोजक किपालयको धारणा छ । किपालयकी प्रोजेक्ट हेड आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट प्राप्त भएको आवेदनबाट १० जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको बताइन् । कार्यशाला भर्चुअल माध्यमबाट भएको थियो ।
कार्यशालाका प्रोजेक्ट कोअर्डिनेटर नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिमा फिल्म मेकिङमा दीक्षित गर्ने प्रयास गरेको जनाए । उनले भने- ‘एक महिनाको तालिममा १८ देखि २४ वर्षसम्मका किशोरीले नेपाली समाजको बनावटमाथि रचनात्मक प्रश्न गर्ने शिल्प सिके । यी पाँच चलचित्रको प्रदर्शनले महिला चलचित्रकर्मीलाई आफ्नो क्षमता देखाउन राम्रो मञ्च प्रदान गरेको छ ।’
यसैगरी प्लान नेपालकी अभियान विशेषज्ञ सृजना बज्रचार्यले छोटो समयमै किशोरीहरूले उत्कृष्ट फिल्म बनाउन सफल भएकोमा खुशी लागेको बताइन् । १० जना किशोरीले ५ समूहमा विभक्त भई बनाएको फिल्ममा उनीहरूले ५ फरक महिलाको जिन्दगीलाई फिल्ममा समावेश गरेका थिए । १ महिने कार्यशालामा राजन कठेत, रजिला श्रेष्ठ, बबिन दुलाल लगायतले प्रशिक्षणको रुपमा थिए ।
एक महिने फिल्म मेकिङ कार्यशालामा आश्रुती त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मिता लावती, श्रीषा कुँवर, मीरा खड्का र ज्योति बेलबासे सहभागी भएका थिए । १० जना किशोरीलाई प्रशिक्षण दिएका राजन कठेतले कार्यशालाले फिल्म बनाउने सिपसँगै किशोरीमा समाजसँग घुलमिल हुने गुण पनि विकास गराएको बताए ।

