Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लप्पन छप्पन २’ ले फेरि ताक्यो शिवरात्री

फिल्मीखबर, काठमाण्डौ, 2021/09/11
कोरोना महामारीअघि शिवरात्रीको विदामा फिल्म रिलिज गर्न निर्माताहरुबीच हानाथाप चल्थ्यो । शिवरात्रीको विदाको फाइदा उठाउन एकै मितिमा चारवटासम्म फिल्म रिलिज भएका उदाहरण छन् । २०७६ सालको असारमा मुहूर्त गर्दा फिल्म ‘लप्पन छप्पन २’ ले पनि रिलिजका लागि महाशिवरात्री रोजेको थियो । तर, निर्माणमा ढिलाइ भएपछि फिल्म घोषित मितिमा रिलिज हुन सकेन । 
 
 
कोरोना महामारी सुरु भएपछि रिलिज अन्योल बनेको यो फिल्म गत चैत २७ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, फेरि संक्रमण भयावह रुपमा फैलिएपछि फिल्म रिलिज हुन सकेन । गत हप्ता तीन जिल्लाका प्रशासन कार्यालयले सशर्तसहित काठमाडौं, भक्तपुर र ललितपुरका सिनेमा हल खोल्न अनुमति दिएपछि ‘लप्पन छप्पन २’ ले फेरि प्रदर्शन मिति घोषणा गरेको छ ।
 
निर्देशक मुकुन्द भट्टले शुक्रवार साँझ आफ्नो फेसबुकमार्फत महाशिवरात्रीलाई लक्षित गर्दै आउँदो फागुन १३ गते फिल्म रिलिज हुने जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘कोरोना महामारीका कारण हामीले ‘लप्पन छप्पन २’ लाई पूर्व घोषित मितिमा रिलिज गर्न सकेनौं । तथापी, अब हामीले आउँदो फागुन १३ गते महाशिवरात्रीको अवसर पारेर रिलिज गर्ने योजना बनाएका छौं ।’ 
 
यो फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय रहेको छ । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल छन् ।
 
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना र निर्देशक मुकुद भट्ट हुन् । फिल्मको पटकथा तथा संवादमा निर्देशक भट्टलाई सुनिल नेउरेले सघाएका छन् । एक्सन जनरामा निर्मित यस फिल्मको ट्रेलरदेखि गीतसम्म सार्वजनिक भइसकेको छ । 
 

Most Visited News (monthly)