Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ४’ ले घोषणा गर्‍यो प्रदर्शन मिति

फिल्मीखबर, काठमाण्डौ, 2021/09/10
 
गत हप्ता काठमाडौंसहित तीन जिल्लाका प्रशासन प्रमुखले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्न दिने निर्णय गर्‍यो । तर, हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले सय प्रतिशत अकुपेन्सीसहित देशैभरका हल खोल्न अनुमति नदिएसम्म सिनेमा हल नखोल्ने निर्णय गरेको छ । जसले गर्दा प्रशासनको अनुमति बावजूद पनि हल बन्द छन् ।
 
सरकारले देशभरका सिनेमा हललाई शतप्रतिशत अकुपेन्सीमा खोल्न अनुमति दिने टुंगो नहुँदा निर्माताहरुले पनि निर्माण सकिएका फिल्मको प्रदर्शन मिति घोषणा गर्न सकेका छैनन् । तर, निर्देशक तथा अभिनेत्री झरना थापाले चैतसम्म हल खुल्ने आशसहित फिल्म ‘ए मेरो हजुर ४’ को रिलिज डेट घोषणा गरेकी छन् । आउँदो चैत २५ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।
 
शुक्रवार फेसबुकमा निर्देशक थापाले लेखेकी छन्, ‘विश्वव्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर ४’ पूर्व घोषित मिति भाद्र १८ मा रिलिज गर्न सकेनौं । अब विस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरु पनि खोल्ने अनुमति दिएकोले विस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने कुरामा हामी आशावादी छौं ।’
 
सुनिल कुमार थापाको निर्माण रहेको ‘ए मेरो हजुर ४’ मा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन् । यसअघि उनीहरुले यही फिल्मको तेस्रो सिरिजमा पहिलो पटक एकसाथ अभिनय गरेका थिए । सञ्जय लामा खिचेको फिल्ममा सलोन बस्नेतको पनि अभिनय छ । निषेधाज्ञाभन्दा अगाडि फिल्मको सम्पूर्ण छायांकन सकेर थापा परिवार अमेरिका उडेको थियो । 

Most Visited News (monthly)