Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हमेशा’ हिरोको उतारचढावपूर्ण फिल्मी यात्रा

फिल्मीखबर, काठमाडौं, 2021/09/09
एक समय अभिनेत्री रेखा थापाको जोडी भएर फिल्ममा काम गरे करिअर नै कायपलट हुन्छ भन्ने विश्वास त्यसबेलाका चल्तीका हिरोहरुमा समेत हुने गरेको थियो । किनकि, फिल्म चलाउन उनको नामै काफी थियो । नव-प्रवेशीलाई त फिल्मको कुनै सिनमा उनको पछाडि उभिन पाउनु पनि ठूलो थियो । झन्, फिल्ममा उनको ‘अनस्क्रिन जोडी’ बन्न पाए त के चाहियो र ? रातारात स्टार । 
 
कैलालीबाट फिल्मको हिरो हुन काठमाडौं आउँदा नरेन खड्काले ‘रेखा थापाको जोडी भएर फिल्ममा काम गर्न पाइन्छ होला’ भनेर सोचेका पनि थिएनन् । उनका लागि यो ‘आकाशको फल’ जस्तै थियो । उनलाई त फिल्म कसरी पाइन्छ भन्ने समेत थाहा थिएन । तर, भनिन्छ नी- ‘भाग्यमा लेखिएको छ भने चुडिएको चप्पलले पनि हिरा कुल्चिने सौभाग्य पाउँछ ।’ नरेन ती भाग्यमानीमा परे । 
 
 
उनको डेब्यू नै रेखा थापाको फिल्मबाट भयो । रेखाकै निर्माण रहेको फिल्म ‘हमेशा’ मा उनले लिड नायकको रुपमा अभिनय गर्ने अवसर पाए । त्यति मात्र होइन, फिल्ममा उनको जोडी नै रेखासँग बाँधिएको थियो । त्यसबेला रेखा करिअरको उचाइँँमा थिइन् । उनको टाउको पोस्टरमा राखे मात्रै पनि फिल्म चल्थ्यो । ‘हमेशा’ पनि चल्यो । नरेन पनि दर्शक र फिल्मकर्मीको नजरमा परे ।
 
‘हमेशा’ पछि उनलाई फिल्मको प्रस्ताव बाक्लै आइरहेको थियो । तर, त्यसबेला उनलाई लाग्यो, ‘पहिला मैले अभिनय सिक्नुपर्छ ।’ किनकि, त्यसअघि उनले कहिँ कसैबाट अभिनय सिकेका थिएनन् । नेपाली फिल्ममा लामो रेसको घोडा बन्ने सोचसहित उनले अफर आएका सबै फिल्म लत्याएर अभिनय सिक्न भारतसम्म पुगे । करीब ३ वर्ष उनले अभिनय सिक्नमै ध्यान केन्द्रित गरे । 
 
जब उनी अभिनय सकेर नेपाल आए तब उनलाई फिल्म क्षेत्रले नै लगभग विर्सिसकेको थियो । जुन सोचका साथ उनले अभिनय सिकेको थिए, त्यसअनुरुप फिल्म पनि पाएनन् । अझ भनौं, उनलाई फिल्मको प्रस्ताव नै आएन । ‘हमेशा’ पछि अभिनय सिक्न लिएको ब्रेक उनका लागि भारी पर्‍यो । यसको असर आजसम्म उनको करिअरमा परेको छ । तर, उनी विचलित भएका छैनन् ।
 
उनी भन्छन्, ‘मैले अभिनयभन्दा बाहेक अरु सोचेको छैन । अभिनय सिकेर गल्ती गरेँ भन्ने पनि लागेको छैन । मैले आफूलाई तयार गर्न अभिनय सिकेको थिएँ । तर, त्यसबेला बजारमा नरेन खड्का चलेन भन्ने हल्ला चल्यो । लगातार फिल्म गरेको भए मार्केटमा ‘बज’ बनिरहेको हुन्थ्यो होला । तर, मेरो ‘ग्याप’ भयो । नेपाल फर्किएपछि मैले फोकश हुने खालको क्यारेक्टर नपाएको पनि हो ।’ 
 
भारतमा अभिनय सिकेर आएपछि उनले सहायक भूमिकामा फिल्म ‘परदेशी’ मा काम गरेका थिए । नारायण रायमाझी निर्देशित यो फिल्म बक्सअफिसमा सुपरहिट भयो । तर, त्यसबेलाका चर्चित गायक तथा नायक प्रशान्त तामाङका कारण नरेन छायाँमा परे । फिल्म हिट भए पनि उनले क्रेडिट पाएनन् । यद्यपि, उनको अभिनय कौशललाई दर्शक तथा समीक्षकले प्रशंसा गरेका थिए ।
 
पछिल्लो पटक नरेनले ठूलो आश गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ थियो । फिल्ममा उनको भूमिका सशक्त थियो । तर, दुर्भाग्य ! यो फिल्म अधुरैमा रोकियो र पूरा छायांकन नभइ गत वर्ष सिनेमा हलमा रिलिज भयो । अब उनी दशैंपछि एक नयाँ फिल्ममा काम गर्ने तयारीमा छन् । उनले ‘मन्दिरा र स्वर्ग मेरो गाउँ’ फिल्मसँगै दुईवटा भोजपुरी फिल्ममा पनि काम गरेका छन् ।
 
 
कोरोना महामारीका कारण फिल्म क्षेत्रका गतिविधि ठप्प भएपछि उनले फुर्सदको समयमा केही म्यूजिक भिडियोमा काम गरे । यसै साता उनी अभिनीत पहिलो लघु फिल्म ‘गहना’ यूट्युबमा सार्वजनिक भएको छ । फिल्म निर्देशक तथा संचारकर्मी लक्ष्मण सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा नरेनको जोडी साया भण्डारीसँग बाँधिएको छ । फिल्म करिब ३२ मिनेट लामो छ । 
 
पति-पत्नीको घरायसी समस्यालाई मुख्य विषय बनाइएको फिल्ममा बेरोजगारी र सामाजिक देखासिकीको पाटोलाई प्रस्तुत गरिएको छ । गहना नहुँदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने विषयलाई फिल्ममा मनछुने ढंगले देखाइएको छ । स्क्रिप्ट राइटर समेत रहेका सुवेदीले यसअघि ‘एउटा साथी र लालजोडी’ फिल्मको निर्देशन गरिसकेका छन् ।
 

Most Visited News (monthly)