जब हरितालिका तीज नजिकिँदै जान्छ तब नेपालको संगीतिक बजारमा तीज गीत सार्वजनिक गर्ने होडबाजी नै चल्छ । कोरोना महामारीको बीचमा पनि यस वर्ष २ सय बढी तीज गीत सार्वजनिक भए । त्यसमध्ये एक/दुईवटा बाहेक प्रायः आए गएकै पत्त भएन । तर, एउटा तीज गीत भने दशकौंदेखि सर्वाधिक गुञ्जिँदै आएको छ, जुन गीतमा कम्मर नभाँचेसम्म महिलाहरुलाई धितै मर्दैन ।
.jpg)
सन् १९९१ मा निर्माण भएको प्रकाश थापा निर्देशित फिल्म ‘कन्यादान’ मा समावेश ‘तीजको रहर आयो बरि लै’ सदाबहार तीज गीत हो । यो गीतलाई उछिन्ने आजसम्म कुनै तीज गीत नै बनेका छैनन् । जब यो गीत बज्न थाल्छन्, तब मानिसहरुलाई तीजको रौनक छाएको महशुस हुने गर्छ । तीजको महत्व बोकेको यो गीतलाई महिलाहरुको दुःख विर्साउने गीत समेत भन्ने गरिएको छ ।
चेतन कार्कीको शब्द, दिपा झा/पुर्णिमा श्रेष्ठको स्वर र मनोहरी सिंहको संगीत रहेको यो गीतको ओर्जिनल भिडियो यूट्युबमा समेत छैन । गौरी मल्ल, बसुन्धरा भुषाल र शुभद्रा अधिकारीको अभिनय रहेको गीतमा श्रीमानको दीर्घायूको कामना गर्दै वर्षौंपछि भेट भएका दिदी-बहिनीहरुलाई सबै दुःख-पीडा भुलेर खुसीसाथ नाच्न भनिएको छ । गीतको भिडियोका कोरियोग्राफर बसन्त श्रेष्ठ हुन् ।
यसअघि र यसपछि पनि थुप्रै फिल्ममा कथावाचनको रुपमा तीज गीत प्रयोग गरिए । केहीले छोटो समय राम्रो चर्चा पनि कमाए । तर, ‘तीजको रहर आयो बरि लै’ जति काल झैं अरु फिल्मका तीज गीत बन्न सकेनन् । न त भोलीका दिनमा नै यो सम्भावना देखिन्छ । यो फिल्मका निर्देशक प्रकाश थापा, अभिनेत्री शुभद्रा अधिकारी र गीतकार चेतन कार्कीको निधन भइसकेको छ ।
‘आफ्नो मान्छे’ (तीज र तिहार आउँदामा), ‘मुना मदन’ (नाच नाच संगिनी), ‘अन्दाज’ (आयो बरै तीजको रमझम), ‘रोमियो एण्ड मुना’ (डानसमा म एक नम्बर), ‘अन्जानमै माया बस्ला है’ (तीजको यो कस्तो रहर), ‘शकुन्तला’ (लपक्कै लाली), ‘रंग बैजनी’ (छड्को पोते) लगायतका फिल्ममा पनि तीज गीत समावेश छन् । तर, आजभोली फिल्ममा तीज गीत खासै अट्ने गरेका छैनन् ।

