
२०१९ मा रिलिज भएको सुपरहिट तमिल फिल्म ‘थडम’ को हिन्दी रिमेकमा अभिनेता आदित्य रोय कपूरको जोडी अभिनेत्री मृणाल ठाकुरसँग बाँधिएको छ । फिल्ममा मृणालले एक प्रहरी अधिकारीको भूमिका निर्वाह गर्नेछिन् । वास्तविक घटनामा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई वर्धन केतकरले निर्देशन गर्दैछन् । यो थ्रिलर फिल्मको आउँदो अक्टोबरबाट छायांकन सुरु हुँदैछ ।
फिल्ममा अनुबन्धपछि मृणालले भनेकी छन्, ‘जब मैले फिल्मको कहानी सुनेँ, तब मलाई महशुस भयो कि म यो फिल्मको हिस्सा हुनुपर्छ । फिल्ममा मेरो भूमिका निकै चुनौतीपूर्ण छ । यो मैले अहिलेसम्म निभाएको चरित्रभन्दा अलग हुनेछ ।’ उनले यसअघि ‘तुफान, सुपर ३०, बाटला हाउस, लभ सोनिया’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् भने ‘जर्सी’ रिलिज हुन बाँकी छ ।
टि-सिरिजका भूषण कुमार र मुराद खेतानीले निर्माण गर्ने फिल्ममा आदित्यको दोहोरो भूमिका हुनेछ । यो फिल्म एक मर्डरको अनुसन्धानमा आधारित छ, जसको अनुसन्धानको क्रममा पुलिसलाई निकै ठूला समस्या आउँछ । यो केसमा दुई जुड्वा व्यक्ति संदिग्ध बन्छन्, जो एक-अर्कासँग पूरै अन्जान हुन्छन् । तमिल ‘थडम’ मा अरुण विजय, विद्या र तान्या होपे मुख्य भूमिकामा थिए ।

