लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरेका निर्देशक हुन्, सुदर्शन थापा । उनी निर्देशित ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ नेपाली फिल्म इतिहासका माइलस्टोन फिल्म मानिन्छन् । यीनै दुई फिल्मबाट उनले दर्शकको विश्वास र भरोसा जिते भने आफूलाई अब्बल निर्देशकको रुपमा स्थापित गरे । आजको समयमा उनको फिल्म भनेपछि विश्वास गरेर हलसम्म जाने दर्शकको भीड ठूलो छ ।
उनले ‘के यो माया हो’, ‘मेरो लभ स्टोरी’, ‘धन्दा’, ‘मधुमास’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘म यस्तो गीत गाउँछु २’ फिल्मको पनि निर्देशन गरिसकेका छन् । तर, अचेल उनले बजारु मसलाको पछाडि दौडिएर आफ्नो लय विगारेको आरोप लाग्ने गरेको छ । किनकि, उनका पछिल्ला फिल्ममा ‘मेरो एउटा साथी छ र प्रेमगीत’ जस्तो मिठास भेटिन्न ।

सुदर्शनलाई ‘स्टार जन्माउने निर्देशक’ समेत भन्ने गरिन्छ । किनकि, उनका फिल्ममा अभिनय गरेर केही कलाकार ‘स्टार’ बनेका छन् । ‘मेरो एउटा साथी छ’ को सफलतापछि अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको करिअर एकाएक चुलिएको थियो । त्यस्तै, ‘प्रेमगीत’ बाट प्रदीप खड्का र पूजा शर्मा, ‘म यस्तो गीत गाउँछु’ बाट पल शाह र ‘रामकहानी’ बाट आकाश श्रेष्ठ चम्किए ।
सुदर्शनले दुईवटा फिल्ममा लिड नायक भएर पनि अभिनय गरेका छन् । स्वर्गीय आलोक नेम्बाङ निर्देशित फिल्म ‘अझै पनि’ र आफू निर्देशित फिल्म ‘चंखे शंखे पंखे’ मा उनी मुख्य भूमिकामा थिए । तर, निर्देशन जस्तो उनलाई अभिनय फापेन । अझ भनौं, दर्शकले उनलाई नायकको रुपमा स्वीकार गरेनन् । यी दुई फिल्मपछि उनले फेरि अभिनयमा फर्किने आँट गर्न सकेका छैनन् ।
सुदर्शन राम्रा गीतकार पनि हुन् । फिल्म ‘म यस्तो गीत गाउँछु’ को ‘भन्छु आज मनका कुरा’ गीत उनैले लेखेका हुन् । उनले आफ्ना फिल्ममा गीत-संगीतलाई विशेष महत्त्व दिने गरेका छन् । यसैले उनले फिल्मका लागि छनौट गरेका प्रायः गीत चर्चित छन् । उनी निर्देशित दुई फिल्म ‘म यस्तो गीत गाउँछु २’ र ‘सम्हालिन्छ कहिले मन’ कोरोना महामारीका कारण रिलिज हुन पाएका छैनन् ।
उनै, सुदर्शन सोमवार आफ्नो जन्मदिन मनाउँदैछन् भने जीवनको नयाँ सुरुवात पनि गर्दैछन् । आफ्नो जन्मदिनको अवसरमा उनले सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवालसँग औंठी साट्दैछन् । काठमाडौंको एक होटलमा अहिले उनीहरुको इन्गेजमेन्ट सरोमनी भइरहेको छ । उनीहरु केही वर्षयता प्रेम सम्बन्धमा थिए । उनीहरु यसै वर्ष विवाह गर्ने योजनामा रहेको बताइएको छ ।

