Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा कहिले फर्केलान् निमा रुम्बा ?

फिल्मीखबर, काठमाडौं, 2021/09/05
नेपालमा लोकप्रिय गायक फिल्मको नायक बनेका थुप्रै उदाहरण छन् । भुवन केसी, यश कुमार, रामकृष्ण ढकाल, उदितनारायण झा, बाबु बोगटी, प्रशान्त तामाङ लगायतका धेरै गायकले फिल्ममा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् । तर, दुई डुंगामा खुट्टा राखेर यात्रा गर्ने गायकहरुको फिल्मी यात्रा त्यति सुखद छैन । एकाधबाहेक प्रायः को पहिलो फिल्म नै अन्तिम बन्यो ।
 
गायन करिअरको उत्कर्षमा रहँदा निमा रुम्बा पनि फिल्मको नायक बने । २००८ मा रिलिज भएको भुषण दाहाल निर्देशित फिल्म ‘कागबेनी’ बाट उनले नायकको रुपमा डेब्यू गरेका थिए । यो फिल्ममा उनको अभिनयको प्रशंसा भएको थियो । तर, यसपछि उनलाई फिल्ममा कमब्याक गर्न १० वर्ष लाग्यो । पछिल्लो पटक उनी २०१८ मा रिलिज भएको फिल्म ‘छिरिङ’ देखिएका थिए ।
 
 
गायनसँगै अभिनयमा पनि आफ्नो राम्रो छाप छाडेका निमा पछिल्लो समय यी दुवै विधामा निक्रिय जस्तै देखिएका छन् । ‘छिरिङ’ पछि उनले न नयाँ फिल्म साइन गरेका छन् न त केही वर्षयता उनको आवाजमा गीत नै सार्वजनिक भएको छ । दर्शकहरु उनको गायन र अभिनयमा पुनरागमनको प्रतिक्षा गरेर बसेका छन् । कुनै समय उनले पप रक संगीतमा आफ्नो बर्चश्व नै जमाएका थिए । 
 
युवापुस्तामाझ उनका ‘मिस् क्याटवाक, हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, साझमा पनि, मेरी प्रियसी, आउँ सँगै नाचौं’ जस्ता गीतहरु अहिले पनि उतिक्कै लोकप्रिय छन् । सन् १९९१ बाट आफ्नो गायन करिअर सुरु गरेका निमालाई सर्वाधिक लोकप्रिय गायकको रुपमा स्थापित गरेको गीत भने ‘मिस् क्याटवाक’ हो । संगीत दुनियाँमा उनलाई ‘सदाबहार गायक’ समेत भन्ने गरिन्छ ।
 
पछिल्लो समय उनी देश तथा विदेशमा हुने कार्यक्रमहरुमा व्यस्त हुने गरेका छन् । उनले आफ्ना पुराना चर्चित गीतहरु लिएर धेरै विदेशी मुलुकमा प्रस्तुती दिइसकेका छन् । कोभिडभन्दा अगाडि उनको विदेशका मञ्चमा निकै राम्रो माग थियो । तर, दर्शकहरु उनको गायन र अभिनयमा सक्रियता नटुटोस् भन्ने चाहिरहेका छन् । आशा गरौं, निमा रुम्बा गायन र फिल्ममा चाँडै फर्किनेछन् । 
Most Visited News (monthly)