नेपाली हास्यव्यंग्यका धरोहर हरिवंश आचार्य बिहीवारबाट ६३औं वर्षमा प्रवेश गरेका छन् । वि.सं. २०१४ कार्तिक २७ गते काठमाडौं गैरीधारामा पिता होमञ्जय आचार्य र माता गणेशकुमारी आचार्यको कोखबाट जन्मिएका उनले बाल्यकालमा अनेकौं दुख झेलेका छन् । बैंशालु उमेरबाटै कलाकारितामा होमिएका उनी तीन दशकभन्दा लामो समयदेखि कलाकारितामै सक्रिय छन् ।
हरिवंशले अभिनय मात्र गर्दैनन् । गाउँछन् र लेख्छन् पनि । उनले गएका ‘सारङ्गी रेटौला, हाम्री आमा, चन्चले चन्चले, साझा बसमा’ लगायतका गीत दर्शकमाझ लोकप्रिय छन् भने ‘चिना हराएको मान्छे र हरिबहादुर’ गरि दुई पुस्तक समेत प्रकाशन गरेका छन् । ‘लालपूर्जा’, ‘१५ गते’, ‘दशैं’, ‘हरिबहादुर मदनबहादुर’ जस्ता सम्झनलायक हाँस्य शृंखलामा पनि उनले अभिनय गरेका छन् ।
उनका बाबुले ५३ वर्षको हुँदा १३ वर्षकी बालिकासँग विवाह गरेका थिए । बुवा ७३ वर्षको हुँदा उनी जन्मिएका हुन् । बुवा पण्डित भएकाले उनलाई पनि संस्कृत पढाएर पण्डित बनाउन चाहन्थे । त्यसबेला पण्डित नै विद्वान् हुन् भन्ने मान्यता व्याप्त थियो । उनी ६ वर्षको हुँदा बुवाको निधन भयो । बुवाकै इच्छाअनुसार उनलाई आमाले ठमेलस्थित वेद वेदाङ्ग विद्यालयमा भर्ना गरिदिइन् ।
त्यसपछि उनी दरबार हाइस्कुलमा पढ्न थाले । त्यहाँ पनि संस्कृत नै पढे । उनका साथीहरू अङ्ग्रेजी स्कुलमा पढ्थे । उनलाई पनि अङ्ग्रेजी पढ्ने रहर थियो । तर, बुवाको पण्डित बनाउने इच्छाका कारण उनी संस्कृत विषय नै पढ्न बाध्य भए । संस्कृत पढ्न टुपी पाल्नुपर्थ्यो । उनलाई भने टुप्पी मनै पर्दैन थियो । सधैं टोपी लगाएर हिँड्थे । सबै कुरा उनका इच्छाअनुसार थिएनन् ।
.jpg)
उनी ११ वर्षको हुँदा आमाको निधन भयो । त्यसपछि उनलाई दिदीहरुले सहारा दिए । आमाको निधनपछि उनको अङ्ग्रेजी पढ्ने इच्छा पूरा भयो । पद्मोदय स्कुलमा उनी आफैं कक्षा ५ मा भर्ना भए । त्यसपछि शान्ति विद्यागृह गए । कक्षा ७ देखि उनले पद्मोदयमै पढे । २०३२ सालमा एसएलसी दिएका उनी दुई पटक फेल भए र तेस्रो पटकमा थर्ड डिभिजनमा पास भएका थिए ।
आमा र बुवाको निधनपछि हरिवंशको काँधमा पारिवारिक जिम्मेवारी थपिएको थियो । घरव्यवहारमा फसेपछि उनले सगोलको घर बेचे । एकजनाले उनलाई जग्गा/घर दिन्छु भनेर ५९ हजार लगेका थिए । तर, त्यसबापत उनले केही पाएनन् । पैसा फिर्ता लिन उनले एघार बर्ष मुद्दा लडे । हरिवंशको पुर्ख्यौली थलो काभ्रेपलाञ्चोकको शंखु हो । त्यहाँ उनीहरूको जग्गा अहिले पनि छ ।
एसएलसी दिएपछि उनका एक साथीका बुवाले जागिर मिलाइदिए । उनी रत्नराज्य स्कुलमा लेखापाल भए । उनको महिनाको तलब १ सय ३५ रूपैयाँ थियो । रत्नराज्यमा काम गरेर उनी साँझ भैरवबहादुर थापाको भैरव नृत्य दलमा पुग्थे । उनलाई पनि नृत्य गर्ने इच्छा थियो । साह्रै दुब्लो भएका कारण उनले झाँक्री नृत्यमा बिरामी र पद्मसम्भव नृत्यमा लाभा फुक्ने काम पाएका थिए ।
अभिनयप्रति रुचि बढ्न थालेपछि उनले नाटककार जितेन्द्र महत ‘अभिलाषी’ लाई भेटेर नाटकमा खेलाउन आग्रह गरे । त्यसपछि उनले नाटक खेल्न थाले । त्यहाँ उनले महिनाको १ सय ७५ रूपैयाँ तलब पाउँथे । नाचघरमा राजा-रानी नाटक हेर्न आउँथे । ‘अमरसिंह’ नाटकमा उनको गोली लागेको अभिनयले रानी ऐश्वर्य खुब हाँसेकी थिइन् । यसपछि उनको तलब बढेको थियो ।
हरिवंशले करिअरको पूर्वाद्धमा विक्रम संवत २०४० मा सञ्चारकर्मी मीरा आचार्यसँग लगनगाँठो कसे । उनीहरुको कोखबाट दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य छन् । सन् २०११ मा ह्रृदयघातबाट मीराको मृत्यु भयो । त्यसले हरिवंशलाई निकै विचलित बनायो । उनी डिप्रेसनग्रस्त भए । त्यही ताका उनमा आत्माहत्या गर्नेसम्म सोच आउने गरेको उनले खुलाएका छन् ।
पत्नी वियोगको पीडा छल्न उनले आत्मावृतान्त ‘चिना हराएको मान्छे’ लेखे । यसमा उनले जीवनमा आफूले भोगेका विभिन्न आरोह-अवरोहलाई शब्दमार्फत् उतारेका छन् । पारिवारिक र शुभेच्छुकको सुझावमा उनले २०६९ सालमा रमिला पाठकसँग दोस्रो विवाह गरे । हरिवंश पछिल्लो समय फिल्म निर्माण र अभिनयमा सक्रिय छन् । अहिले उनी नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् ।
हरिवंश अभिनीत ‘लोभीपापी, तँ त साह्रै बिग्रिस नी बद्री, राजमती, जे भो राम्रै भो, शत्रु गते, दाल भात तरकारी’ जस्ता फिल्म सफल मानिन्छन् । उनले फिल्म ‘बलिदान’ मा गरेको जीवन्त अभिनयको आज पनि चर्चा हुने गरेको छ । उनी पछिल्लो पटक मह सञ्चारले निर्माण गरेको फिल्म ‘दाल भात तरकारी’ मा देखिएका छन् । कलाकार आचार्यलाई जन्मदिनको हार्दिक शुभकामना ।

