.jpg)
रंगीन दुनियाँमा मित्रता र दुश्मनी दिगो हुँदैन भन्ने गरिन्छ । यहाँ कुन विन्दूमा दुश्मनी मित्रतामा परिणत हुन्छ र कहिले घनिष्ट मित्रता दुश्मनीमा बदलिन्छ, कुनै टुंगो हुँदैन । कतिपय भने सम्बन्ध राम्रो नहुँदा नहुँदै पनि देखावटी रुपमा असल बन्ने प्रयास गरिरहेका छन् । फिल्म क्षेत्रमा विशेषगरि कलाकार र निर्देशक-निर्माताबीचको खटपटका खबरहरु बाक्लै बाहिर आउने गरेका छन् ।
गएको दुई वर्ष अगाडि अभिनेता प्रदीप खड्का र निर्देशक मिलन चाम्सबीच पनि ‘पानी बाराबार’ को सम्बन्ध थियो । ‘छैठौँ एनएफडिसी अवार्ड’ मा मिलनले प्रदीपसँग हात समेत मिलाउन नचाहेपछि उनीहरुको सम्बन्ध विग्रिएको चर्चा चलेको थियो । दुईबीच खटपट भएको खबर बाहिरिएपछि मिलनले प्रदीपसँग कहिल्यै काम नगर्ने र प्रदीपलाई आफ्नो बानी सुधार्न भनेका थिए ।
तर, उनीहरुबीच मनमुटावको कारण के थियो, दुवैले कहिल्यै खुलाएनन् । ‘लिलिबिली’ मा प्रदीपले मिलनको निर्देशनमा काम गरेका थिए । अब, यी दुई दुश्मनी भुलेर नयाँ फिल्ममा सहकार्य गर्ने तयारीमा छन् । मिलनले प्रदीपलाई केही फिल्मबाट अफर गरेका छन् । प्रदीप पनि मिलनसँग सहकार्य गर्न सकारात्मक छन् । तर, तत्काल उनीहरुबीच टिमअप हुने सम्भावना न्यून छ ।
प्रदीपलाई फिल्म अफर गरेको स्वीकार गर्दै चाम्सले भने- ‘हामीबीच केही फिल्मको विषयमा कुरा भएको सत्य हो । तर, अहिले हामी दुवै व्यस्त छौं । प्रदीपको पाइपलाइनमा तीनवटा फिल्म छ । मैले पनि लगातार तीनवटा फिल्म गर्नुपर्ने छ । त्यसैले केही समय पछाडि काम गर्ने कुरा भएको छ ।’ उनी तिहारपछि साम्राज्ञी आरएल शाहसँँगको फिल्मको छायांकन थाल्ने तयारीमा छन् ।
प्रदीपले पनि मिलन चाम्सले फिल्म अफर गरेको कुरा स्वीकार गरे । ‘मिलन दाईसँग केही फिल्मको विषयमा कुराकानी भएको थियो । तर, तत्काल हामी दुवै व्यस्त भएकाले कुरा अगाडि बढ्न पाएको छैन । स्क्रिप्ट राम्रो लाग्यो भने मिलन दाईसँग टिमअप गर्न समस्या छैन,’ उनले भने । स्थिति सामान्य भएपछि प्रदीप दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’ गर्ने तयारीमा छन् ।

