
२०१८ मा अभिनेता नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाएपछि अभिनेत्री तनुश्री दत्ता अचानक चर्चामा आइन् । फिल्म ‘हर्न ओके प्लीज’ को सेटमा नाना पाटेकरले आफूलाई गलत व्यवहार गरेको उनको आरोप छ । नाना पाटेकरले आफूलाई गलत तरिकाले छुने प्रयास गरेको उनले दाबी गरेकी छन् । मिटू मुभमेन्टको हिस्सा बनेकी उनी आफ्नो लागि न्याय मागिरहेकी छन् ।
यौन उत्पीडनको आरोप लागेपछि दुई वर्ष कुनै फिल्म नगरेका नाना पाटेकर काममा फर्किएसँगै तनुश्रीले पनि फिल्ममा फर्किने घोषणा गरेकी छन् । उनले इन्स्टाग्राममा लामो पोस्ट लेख्दै केही खराब मानिस र तनाबका कारण आफ्नो बाटो विराए पनि अब अभिनयमा कमब्याक गर्न चाहेको बताएकी छन् । फिल्ममा कमब्याकका लागि उनले १५ केजी तौल समेत घटाएकी छन् ।
उनले लेखेकी छन्, ‘म लस एञ्जिलिसमा आईटीको तालिम लिइरहेको थिएँ र यहाँ यूएस सरकारको डिफेन्स सेक्टरमा राम्रो रोजगारीको मौका पनि थियो । तर, म कलाकारको रुपमा आफ्नो करिअर सुरु गर्न चाहन्छु । म मनदेखि आर्टिस्ट हुँ । केही खराब मानिसका कारण आफ्नो अभिनय करिअर छाड्न सक्दिनँ । मेरो बलिउड र मुम्बई निकै राम्रो छ, यसकारण भारत फर्किँदैछु ।’
तनुश्रीले आफूलाई बलिउड फिल्म र वेब सिरिजबाट राम्रो अफर आएको बताएकी छन् । आफू साउथको ३ ठूला म्यानेजर र मुम्बईका १२ कास्टिङ अफिसको सम्पर्कमा रहेको उनको भनाई छ । ‘आशिक बनाया आपने’ बाट डेब्य गरेकी उनी पछिल्लो पटक सन् २०१० मा फिल्म ‘डिपार्टमेन्ट’ मा देखिएकी थिइन् । डेब्यू फिल्म हिट भएपछि उनको चर्चा निकै चुलिएको थियो ।

