.jpg)
कोरोनाका कारण अभिनेत्री दीपिका प्रसाईंले यस वर्षको जन्मदिन परिवारसँग मनाएकी छन् । आइतवार उनको जन्मदिन परेको थियो । श्रीमान दीवाकर भट्टराईसँग उनले काभ्रेको एक रिसोर्टमा जन्मदिन सेलिब्रेट गरेकी छन् । दीपिकाले श्रीमानको साथमा जन्मदिन मनाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट्याएकी छन् । तस्विरमा उनीहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।
आफ्नै श्रीमानले निर्देशन गरेको फिल्म ‘ऐश्वर्य’ बाट दीपिकाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसमा उनको जोडीको रुपमा रमेश उप्रेती थिए । यो फिल्ममा काम गर्दै गर्दा उनी दीवाकरको प्रेममा डुबेकी थिइन् । ‘ऐश्वर्य’ ले व्यापारिक सफलता मात्र प्राप्त गरेन, दीपिकाको अभिनयको पनि प्रशंसा भयो । यसपछि उनले दोस्रो फिल्मको रुपमा ‘छक्का पञ्जा ३’ मा काम गरिन् ।
उनले दोस्रो फिल्मबाट पनि निराशा भोग्नु परेन । ‘छक्का पञ्जा ३’ उनको करिअरकै सबैभन्दा ब्लकबस्टर फिल्म सावित भयो । दुई फिल्मको सफलताले करिअरको उचाईमा पुगेकी उनी बैबाहिक जीवनमा बाँधिएपछि भने अभिनयमा सुस्ताएकी छन् । ‘छक्का पञ्जा ३’ प्रदर्शन लगत्तै उनले दीवाकरसँँग सातफेरो लिएकी थिइन् । यसपछि उनी अभिनीत नयाँ फिल्म प्रदर्शन भएका छैनन् ।
विवाहपछि दीपिकाले फिल्म ‘हेल्लो जिन्दगी’ गरिन् । निर्माण सम्पन्न भएको दुई वर्ष वितिसक्दा पनि यो फिल्म प्रदर्शनमा आउन सकेको छैन । त्यस्तै, लकडाउनको समयमा उनले ‘कृष्ण लीला’ साइन गरेकी थिइन् । तर, स्वास्थ्यमा समस्या देखिएपछि उनले यो फिल्म छाडेकी छन् । अब उनी आफ्नै श्रीमानले निर्देशन गर्ने फिल्म ‘तिमीसँगै हुन मन छ’ मा काम गर्ने जानकारी प्राप्त छ ।

