पेशाले स्वास्थ्यकर्मी तथा व्यवसायी हुन्, रोहिणी भट्टराई । तर, उनको परिचयको दायरा यतिमा मात्र सीमित छैन । उनी फिल्म निर्माता तथा कलाकार पनि हुन् । एक दशक अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ बाट उनले अभिनय यात्रा सुरु गरेका थिए । यो सिरियलमा उनको भूमिका सानो भए पनि दर्शकले निकै मन पराएका थिए ।
‘हिजो आजका कुरा’ मा कलाकार सन्तोष पन्तले अवसर नदिएको भए सायदै आफू अभिनयमा लाग्ने रोहिणी बताउँछन् । उनी आफ्नो कलाकारिताको गुरु नै सन्तोष पन्तलाई मान्छन् । उनी भन्छन्, ‘मैले सन्तोष पन्त दाईलाई कलाकारितामा मेरो पनि रुचि छ भनेपछि उहाँले टेस्ट लिनुभयो । उहाँलाई मेरो अभिनय मन परेछ । त्यसपछि उहाँले भोलीबाट सुटिङमा आऊ भन्नुभयो । त्यसपछि मेरो औपचारिक रुपमा अभिनय यात्रा सुरु भएको हो ।’

‘हिजो आजका कुरा’ पछि उनले केही नेवारी टेलिसिरियलसँगै ‘होकी क्या हो’ टेलिसिरियलमा पनि लामो समय काम गरे । ‘अज्ञाप्य प्रेम, आवारा’ लगायतका केही फिल्ममा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका उनको प्रदर्शनको पखाईमा फिल्म ‘हिजो आजका कुरा’ छ । उनले जनचेतना मुलक ट्राफिक नियम सम्बन्धि, नेपाल आर्मीसँग सम्बन्धि टेलिसिरियल, लघु चलचित्रमा पनि अभिनय गरिसकेका छन् ।
उनले फिल्म ‘भूईंमान्छे’ को निर्माण समेत गरेका थिए । तर, यो फिल्मले उनको लगानी उठाउन भने सकेन । फिल्मले लगानी उठाउन नसके पनि आफू सन्तुष्ट रहेको उनी बताउँछन् । रोहिणी भन्छन्, ‘फिल्म निर्माण गर्ने मेरो चाहना थियो र त्यो पूरा गरेँ । मैले जुन फिल्म बनाएँ, आर्थिक रुपमा सफल भइनँ । तर, फिल्मले दिन खोजेको सन्देशको विषयमा जसरी चर्चा परिचर्चा भयो त्यसबाट खुसी छु । फिल्मले अवार्ड पनि पायो । राम्रो काम गर्यो भने प्रोत्साहन पनि हुँदो रहेछ भन्ने महशुस गरेँ ।’
‘भूईंमान्छे’ व्यावसायिक रुपमा सफल नहुँदा आर्थिक रुपमा केही असर पुगे पनि हतोत्साहित नभएको उनी बताउँछन् । निर्माता भट्टराई अगाडि भन्छन्, ‘हामीले फरक धारको फिल्म बनाएका थियौं । नेपाली फिल्मको इतिहासमा त्यस्तो विषयमा कुनै फिल्म बनेको थिएन । हामीले एउटा प्रयास गरेका थियौं । आर्थिक रुपमा सफल नभए पनि फिल्मलाई प्राप्त प्रतिक्रियाबाट सन्तुष्ट छु ।’
कोरोनाको महामारीभन्दा अगाडि उनी ‘भूईंमान्छे’ का निर्देशक नवराज बुढाथोकीसँग मिलेर सामाजिक विषयवस्तुमा नयाँ फिल्म बनाउने तयारीमा थिए । तर, कोरोनाले फिल्मको काम पोस्टपोन्ड गरिएको छ । ‘भूईंमान्छे’ को असफलताले केही हच्किएका उनी नयाँ फिल्म आर्ट र कमर्शियल दुवैको मिश्रण हुने बताउँछन् । यसपटक उनी व्यावसायिक सफलता प्राप्त हुनेमा विश्वस्त छन् ।
‘भूईंमान्छे’ बनाएर आफूले फिल्म क्षेत्रलाई केही हदसम्म नजिकबाट बुझ्ने मौका पाएको उनको भनाइ छ । यो फिल्मबाट उनले फिल्म क्षेत्रमा हुने राजनीतिलाई पनि नजिकबाट बुझ्ने मौका पाए । उनी भन्छन्, ‘फिल्म क्षेत्रमा नयाँ आउने मान्छेलाई एउटा सत्ता ओगटेको समुहले पूरै असहयोग गर्दो रहेछ । मनोबल गिराइदो रहेछ । पुराना कलाकार र वितरकको हेपाई प्रवृति, नयाँलाई मुर्गाको रुपमा लिने, प्रोत्साहन नगर्ने व्यवहार हटाउनु पर्छ ।’
ताप्लेजुङमा जन्मिएका रोहिणी भट्टराई २०५२ सालमा अध्ययनका लागि काठमाडौं छिरेका थिए । आरआर कलेजबाट ब्याचलर गरेका उनले मास्टर भने पोलिटिकल साइन्समा त्रिभुवन विश्व विद्यालयबाट गरे । त्यसपछि हस्पिटालिटी क्षेत्रमा काम गर्ने सोचसहित उनले होटल म्यानेजमेन्ट कलेज (पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम केन्द्र) बाट कुक, हाउस किपिङ र फ्रन्ट अफिसको तालिम लिएका थिए ।
यसपछि उनले होटल र हस्पिटलमा एकसाथ काम गर्न सुरु गरे । र्याडिसन होटल, मनास्लु, याक एन्ड यति, हायत होटलमा काम गरेपछि उनले मेडिकेयर अस्पताल, तिलगंगा आँखा अस्पताल, नर्भिक अस्पतालमा पनि लामो समय कामको अनुभव बटुले । विगत तीन वर्षदेखि भने उनी नेपाल मेडिसिटी अस्पतालमा पब्लिक रिलेसन र फ्यासिलिटी सर्भिसको डिपार्टमेन्ट म्यानेजरको रुपमा कार्यरत छन् ।
योभन्दा बाहेक उनले आफ्नो एउटा आउटसोर्सिङ कम्पनी ‘इनोभेटिभ एचआर सोलुसन’ पनि सञ्चालन गर्दै आइरहेका छन् । यसले ह्युमन रिसोर्सिङ र म्यानेजमेन्ट कन्ट्रयाक्टमा लिएर काम गर्ने रोहिणी बताउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइको काम उनकै कम्पनीले गरिरहेको छ । विमानस्थल सरसफाइमा अहिले धेरै सुधार आएको उनको दाबी छ । हालको कोभिडको परिस्थितिमा पनि उनी नियमित आफ्नो काममा खटिरहेका छन् ।

व्यवसायका कारण अभिनयलाई पर्याप्त समय दिन नसकेको अभाव भने उनलाई खड्किरहन्छ । ‘कलाकारिता मेरो रुचिको विषय हो । यसमा लागेपछि निरन्तरता दिन मन लाग्छ । तर, व्यवसायका कारण कलाकारितामा पर्याप्त समय दिन सकेको छैन,’ भट्टराई भन्छन्, ‘अहिलेसम्म व्यवसाय र कलाकारितालाई समायोजन गरेर आइरहेको छु । व्यवसायिक जीवनबाट अवकास लिएपछि भने कलाकारितालाई समय दिने सोचमा छु । अहिलेलाई व्यवसाय र कलाकारिता दुवैलाई एकसाथ लिएर जानेछु ।’
व्यवसाय आफ्नो आवश्यकता र कलाकारिता आफ्नो रुचिको विषय रहेको उनी बताउँछन् । तर, उनी आफूलाई जहीँ तहीँ कलाकार भन्न रुचाउँदैनन् । रोहिणी भन्छन्, ‘मैले आजसम्म कहिँ कतै आफूलाई कलाकार भनेको छैन । म परिश्रम गर्ने व्यक्ति हुँ । म त्यो उचाइमा पुग्न बाँकी नै छ । यो क्षेत्रमा मैले पढ्न, बुझ्न र सिक्न धेरै छ । व्यवसायिक रुपमा पनि म एक लेभर हुँ । यी दुई पाटालाई अहिलेसम्म आफ्नो समय अनुकूल समानान्तर रुपमा लिएर हिँडिरहेको छु ।’
उनी व्यवसाय र कलाकारितालाई एउटै तराजुमा राखेर जोख्न सक्दैनन् । ‘व्यवसायले मेरो रोजीरोटी चलेको छ । यसबाट मैले घर-परिवार चलाएको छु । यसैबाट कमाएको चिजलाई मैले अर्कोतिर लगाएको छु । कलाकारिता चाहिँ मेरो रुचिको क्षेत्र हो । यसले मलाई मानिससँग घुलमिल र चिनजानको अवसर दिएको छ । अवसर र रोजीरोटीको कुरालाई एउटै तराजुमा राखेर जोख्न सक्दिनँ,’ उनले भने ।
कलाकार भट्टराई स्वास्थ्य क्षेत्रले पनि फिल्म निर्माणमा हात हाल्नुपर्ने धारणा व्यक्त गर्छन् । स्वास्थ्य क्षेत्रमा भएका कुरालाई फिल्मको माध्यमबाट आम मानिसमा पुर्याउनु पर्ने उनी बताउँछन् । स्वास्थ्य क्षेत्रका चेतनामुलक कुरालाई फिल्मको मुख्य विषयवस्तु बनाउन सकेको अवस्थामा नेपालको स्वास्थ्य क्षेत्रलाई पर्यटन प्रवर्धनको रुपमा विकास गर्न सकिने उनको तर्क छ ।
फिल्मको माध्यमबाट पनि नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान हुनसक्ने बताउँदै कलाकार भट्टराई भन्छन्, ‘यहाँबाट मानिसहरु उपचारका लागि विभिन्न देशहरु जाने गरेका छन् । अरु देशका नागरिक उपचारका लागि नेपाल चाहिँ किन नआउने ? नेपालमा पनि स्रोत र साधान छ । डाक्टरहरु राम्रो-राम्रो हुनुहुन्छ । अब हेल्थ टुरिजमलाई विकास गर्ने हो भने स्वास्थ्य क्षेत्रले फिल्म निर्माण गर्नुपर्छ ।’ फिल्मको माध्यमबाट स्वास्थ्य क्षेत्रलाई थप विकास गर्न सकिने उनको धारणा छ ।

