
छोटो अवधिको भिडियो सेयर गर्न मिल्ने टिकटकले संसारमा धेरैलाई सेलिब्रेटी बनाएको छ । नेपालमा पनि टिकटकबाट सेलिब्रेटीको स्थान हासिल गर्ने कयौं छन् । इन्टरनेटको पहुँच बढेसँगै अहिले टिकटकमा झुम्मिनेको जमात बढेको छ । टिकटकमा भाइरल भएपछि म्यूजिक भिडियो र फिल्मबाट अफर आउने सोचाइले यसतर्फ युवापुस्ताको आकर्षण झन् बढेको पाइन्छ ।
रेश्मा घिमिरेलाई पनि टिकटकले दर्शकमाझ चिनाएको हो । उनको करिअरको सुरुवात भने फिल्मबाट भएको थियो । उनले फिल्म ‘यो साइनो मायाको’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, यो फिल्म बक्सअफिसमा पिटिँदा उनलाई अन्य फिल्मबाट अफर आएनन् । यसपछि टिकटक ज्वाइन गरेकी उनी अहिले कुनै चर्चित कलाकारभन्दा कम लोकप्रिय छैनन् ।
टिकटकमा रेश्मा घिमिरेलाई पछ्याउनेको संख्या लाखौं छ । टिकटकमा उनले बनाउने छोटो भिडियोलाई दर्शकहरुले निकै मन पराउने गरेका छन् । प्रायःले उनलाई ‘एक्सप्रेसन क्विन’ समेत भन्ने गरेका छन् । टिकटकमा हिट भएपछि अहिले उनको म्यूजिक भिडियोमा माग चुलिएको छ । गएको दुई वर्षमा उनले डेढ सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
नेपाली फिल्ममा आफूलाई अभिनेत्रीको रुपमा चिनाउन चुकेकी रेश्मालाई टिकटकले भने म्यूजिक भिडियोमा सफल मोडलको रुपमा स्थापित गरेको छ । आजभोली उनलाई फिल्म प्रस्तावको पनि कमी छैन । तर, उनी तत्काल फिल्म गर्ने सोचमा देखिएकी छैनन् । म्यूजिक भिडियोमा फलिफाप भइरहेको अवस्थामा फिल्म गरे करिअर नै संकटमा पर्ने चिन्ता त होइन रेश्मालाई ?

