.jpg)
अहिले देशमा कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । दैनिक हजारौंको संख्यामा संक्रमित हुने गरेका छन् भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । कोरोनाबाट आमनागरिकका साथै नेपाली कलाकारहरु पनि अछुतो छैनन् । हालसम्म एक दर्जन बढी कलाकारलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । कतिले कोरोनालाई जितेका छन् भने कति स्वास्थ्य लाभ गरिरहेका छन् ।
यसबीच, कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा पनि कोरोनाको चपेटामा परेका छन् । शुक्रवार साँझ सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट उनले पिसिआर परीक्षण गराउँदा आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै अब दुई हप्ता पूर्ण रुपमा घरमा बस्ने बताएका छन् । सामान्य ज्वरोबाहेक आफूलाई अन्य कुनै लक्षण नदेखिएको पनि उनले उल्लेख गरेका छन् ।
निर्मलले आफूसँग सम्पर्कमा रहेका कसैलाई लक्षण देखा परे परीक्षण गराएर सुरक्षित रहन आग्रह गरेका छन् । एक समयको चर्चित हास्य टेलिसिरियल ‘तितो सत्य’ मा ‘गैंडा’ को भूमिका निर्वाह गरेपछि चर्चामा आएका उनी पछिल्लो समय फिल्म निर्माण, अभिनय र निर्देशनमा सक्रिय छन् । नयाँ फिल्मको तयारीमा रहेका उनले पछिल्लो पटक फिल्म ‘ऐश्वर्य’ निर्माण गरेका थिए ।

