म्यूजिक भिडियोबाट काँचको पर्दामा फड्को मार्नेको संख्या वर्षेनी बढिरहेको छ । तर, सानो पर्दामा सफलता हासिल गरेका प्रायः कलाकारलाई फिल्ममा आफूलाई स्थापित गर्न निकै सकस परेको देखिन्छ । थोरैलाई मात्र फिल्म फलिफाप भएको छ । अभिनेता द्वय पल शाह र पुष्प खड्का पनि म्यूजिक भिडियोकै उत्पादन हुन् । दुवैले लगभग एकै समयमा करिअर सुरुवात गरेका थिए ।
लोकप्रियताको हिसाबले पुष्पभन्दा पल अगाडि भए पनि म्यूजिक भिडियोको दुनियाँमा उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी भन्ने गरिन्छ । यी दुई चकलेटी हिरोले म्यूजिक भिडियोमा काम गरेबापत बुझ्ने पारिश्रमिकमा खासै ठूलो अन्तर छैन । अहिले फिल्ममा पनि उनीहरुले लगभग बराबर जस्तै पारिश्रमिक लिने गरेका छन् । म्यूजिक भिडियो र फिल्म दुवैमा उनीहरुको राम्रो माग छ ।
(1).jpg)
लकडाउनको समयमा पल र पुष्पबीच कसले धेरै म्यूजिक भिडियो गर्ने र पारिश्रमिक धेरै बुझ्ने प्रतिस्पर्धा चलेको बताइन्छ । तर, पुष्प आफूहरुबीच प्रतिस्पर्धा नरहेको बताउँछन् । उनी भन्छन्, ‘पलसँग मेरो आत्मीय सम्बन्ध छ । हामीले एकसाथ केही म्यूजिक भिडियोमा काम पनि गरेका छौं । हामीहरुबीच भेट हुँदा एक प्रकारको प्लानिङ चाहिँ गर्छौं । तर, त्यस्तो अस्वस्थ प्रतिस्पर्धा छैन ।’
आफूहरु म्यूजिक भिडियोबाट आएका कारण प्रतिस्पर्धाको चर्चा चल्ने गरेको उनको बुझाई छ । फिल्म क्षेत्रमा कतिपयले म्यूजिक भिडियोलाई होच्याउने गरेकोप्रति दुखेसो पोख्दै पुष्प भन्छन्, ‘मलाई पनि धेरैले म्यूजिक भिडियोबाट आएका कारण फिल्ममा गाह्रो छ भन्ने गर्थे । तर, मलाई के लाग्छ भने म्यूजिक भिडियो त्यस्तो प्लेटफर्म हो, जसले ठूलो प्लेटफर्मलाई निम्त्याउन सक्छ ।’
लकडाउनको समयमा तीन दर्जन बढी म्यूजिक भिडियोमा काम गरेका पुष्प आउँदो मंसिर १५ गतेबाट फिल्म ‘कृष्ण लीला’ को छायांकनमा व्यस्त हुँदैछन् । दीपक ओलीको निर्देशनमा बन्न लागेको यो फिल्ममा पुष्पले अभिनेत्री श्रद्धा क्षेत्रीसँग रोमान्स गर्नेछन् । योसँगै उनको पाइपलाइनमा मुकुन्द भट्टको एक्सन फिल्म पनि छ । यसका लागि उनले ६ महिनाको एक्सन तालिम लिनेछन् ।

