 (2)(1)(1)(2).jpg)
केकी अधिकारीलाई नेपाली फिल्मकी भाग्यमानी अभिनेत्री भन्ने गरिन्छ । एक दशक लामो अभिनय करिअरमा उनी अभिनीत अधिकांश फिल्म बक्सअफिसमा पिटिएका छन् । तर, फिल्म नचले पनि उनी कहिल्यै कामविहीन हुनु परेन । फिल्म करिअरमा पहिलो पटक ‘छ माया छपक्कै’ बाट सफलताको सुख प्राप्त गरेकी उनले फिल्म निर्माणमा समेत हात हालिसकेकी छन् ।
२०७५ सालमा प्रदर्शनमा आएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ लाई केकीले निर्माण गरेकी थिइन् । तर, फिल्मलाई ‘चोरी’ को बात लाग्यो । दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को कथा हुबहु उतारिएको यो फिल्मले केकीको स्वच्छ छविमा ‘चोरी’ को दाग लाग्यो । केही समय अगाडि उनले यो दाग मेट्न चाँडै मौलिक विषयवस्तुमा फिल्म बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
अब उनी नयाँ फिल्म निर्माणको तयारीमा जुटेकी छन् । तिहारपछि फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त हुन लागेकी उनले आफूले निर्माण गर्न लागेको फिल्मको एक महिनादेखि वर्कसप भइरहेको र अझै २ महिना चल्ने बताइन् । उनका अनुसार, फिल्मका लागि सम्पूर्ण कास्ट एन्ड क्रियू फाइनल भइसकेका छन् । फिल्म सामाजिक विषयवस्तुमा बन्ने केकीको भनाई छ ।
‘कोहलपुर एक्सप्रेस’ को क्याप्टेनसिप सम्हालेका विशाल भण्डारी ‘कमेडी च्याम्पियन २’ मा व्यस्त हुने भएकाले फिल्ममा अर्कै निर्देशकको प्रवेश भएको छ । स्थिति सामान्य भएपछि केकी एक कार्यक्रम गरेर फिल्मको घोषणा गर्ने तयारीमा छिन् । ‘कोहलपुर एक्सप्रेस’ मा चोरीको बात खेपेकी उनी नयाँ फिल्मले आफूलाई सिन्सिएर फिल्ममेकरको रुपमा चिनाउनेमा विश्वस्त छिन् ।

