.jpg)
कोरोना संक्रमण रोकथामका लागि सरकारले चैत पहिलो हप्ताबाट लकडाउन घोषणा गरेपछि करीब आठ महिना फिल्म सम्बन्धि हरेक गतिविधि पूर्ण रुपमा ठप्प रहे । निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ । तर, फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध अझै कायम छ । जसले गर्दा बन्द रहेका सिनेमा हलहरु सञ्चालनमा आउन सकेका छैनन् ।
कात्तिकबाट फिल्म क्षेत्र केही हदसम्म चलमलाउन भने थालेको छ । कोरोनाका कारण निर्माण हुन नसकेका एकपछि अर्को फिल्म फ्लोरमा निस्किरहेका छन् । सरकारले छायांकन अनुमति नदिए पनि ‘ए मेरो हजुर ४, आई एम ट्वान्टिवान, आश्रम, चोर र पुलिस’ लगायतका फिल्मको अहिले छायांकन भइरहेको छ । चलचित्र विकास बोर्डले पनि फिल्म निर्माणको अनुमति दिइरहेको छ ।
निर्देशक तथा कलाकार निर्मल शर्माले यो समयमा फिल्म बनाउन तम्सने निर्माता बलभद्र कुँवर र भिमसेन थापाभन्दा बहादुर रहेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘सरोकारवाला संघ संस्थाहरु पहिले समर्पित निर्माता निर्देशकहरुका तयार भएका र बीचमा रोकिएका चलचित्रहरुलाई सुरक्षित बनाउन पहल गर्नुस् अनि मात्र नयाँ चलचित्र निर्माणको स्विकृति दिनुहोला ।’
फिल्म सम्बद्ध संघ-संस्थाहरुले निर्माण भइसकेका र बीचमा रोकिएका फिल्मलाई सुरक्षित बनाउन पहल नगरेर अन्धाधुन्ध नयाँ फिल्म निर्माणको स्विकृति दिए अहिले लगानी गर्न तयार भएका अनभिज्ञ निर्माताहरुको घरबार डुबे घनघोर पाप लाग्ने कलाकार निर्मल शर्माले बताएका छन् । यो विषम परिस्थितिमा फिल्म निर्माण गर्न तम्सने निर्मातालाई प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ ।

