Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पारिश्रमिक घटाउन तयार छन् पुष्प ?

फिल्मीखबर, काठमाण्डौ, 2020/11/04
विगत ८ महिनादेखि सुनसान रहेको फिल्म क्षेत्र विस्तारै चलमलाउन थालेको छ । कोरोनाका कारण सिनेमा हल बन्द भए पनि केही फिल्मको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छायांकन भइरहेको छ । यद्यपि, सरकारले फिल्म छायांकनको अनुमति भने दिएको छैन । आठ महिनादेखि कामविहीन भएका फिल्मकर्मीलाई फिल्म निर्माण हुन थालेपछि केही हदसम्म राहत मिलेको छ । 
 
कोरोनाले थिलथिलो बनाएको फिल्म क्षेत्रलाई उठाउन फिल्म निर्माणको गति बढाउनु पर्ने र यसका लागि कलाकारदेखि प्राविधिकसम्मले पारिश्रमिक घटाएर काम गर्नुपर्ने आवाज उठिरहेको छ । केही कलाकारले फिल्म क्षेत्रलाई पुरानो अवस्थामा फर्काउन पारिश्रमिक घटाएर काम गर्न तयार रहेको बताएका छन् । अभिनेता पुष्प खड्का पनि यो कुरामा सकारात्मक छन् ।
 
 
लकडाउनमा ‘कृष्ण लीला’ र मुकुन्द भट्टको गरी दुई फिल्म साइन गरेका उनले फिल्मसँगै म्यूजिक भिडियोमा पनि आफूले पारिश्रमिक कम लिएर काम गरिरहेको बताएका छन् । लकडाउनपछि आफूले ३०/४० प्रतिशत कम पारिश्रमिक बुझेर म्यूजिक भिडियो गरिरहेको र फिल्म ‘कृष्ण लीला’ मा केही प्रतिशत पारिश्रमिक लिएर बाँकी शेयरमा काम गर्न लागेको उनले बताए ।
 
मंगलवार शिव हमालको ‘नीरमाया’ बोलको गीत सार्वजनिक कार्यक्रममा उनले भने- ‘अहिले हामी सबै मिलेर फिल्म इन्डस्ट्रीलाई उठाउनु पर्नेछ । यो अवस्थामा सबैले हातेमालो गरेर फिल्म निर्माणका लागि सहज वातावरण बनाउनु पर्छ ।’ ‘कृष्ण लीला’ पछि अभिनेता खड्काले मुकुन्द भट्टको एक्सन फिल्ममा काम गर्दैछन् । यसका लागि उनले ६ महिनाको एक्सन तालिम लिनेछन् ।
 
लकडाउन र निषेधाज्ञा खुकुलो भएपछि पुष्पले झण्डै तीन दर्जन हराहारीमा म्यूजिक भिडियोमा काम गरे । अहिले उनी अभिनीत म्यूजिक भिडियो दैनिक जसो टेलिभिजन र यूट्युबमा रिलिज हुने गरेका छन् । यसले उनको फिल्म करिअरलाई ठूलो असर गर्ने कतिपयको विश्लेषण छ । तर, म्यूजिक भिडियोमा काम गरेर फिल्म करिअरलाई असरभन्दा फाइदा पुगेको उनको अनुभव छ ।
 
‘जब म ‘मारुनी’ लिएर देशका विभिन्न ठाउँमा पुगेँ, त्यसबेला धेरै दर्शकले मलाई म्यूजिक भिडियोबाट चिन्नुभएको पाएँ । यसपछि मलाई लाग्यो कि म्यूजिक भिडियोलाई पनि निरन्तरता दिनुपर्छ,’ उनी अगाडि भन्छन्, ‘लकडाउनमा सुस्ताएको मनोरञ्जन क्षेत्र चलायमान बनाउन पनि लगातार म्यूजिक भिडियो गरेको हुँ । फिल्म रिलिज हुने समयमा म्यूजिक भिडियो गर्न कम गर्नेछु ।’
Most Visited News (monthly)