
कोभिड १९ का कारण विगत आठ महिनादेखि फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका कारण छैनन् । सिनेमा हल बन्द हुँदा निर्माण सम्पन्न भएका फिल्म प्रदर्शनमा आउन सकेका छैनन् । हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच हानाथाप हुन्थ्यो । यसपाली कोरोनाका कारण दशैंमा कुनै फिल्म रिलिज भएनन् । आउँदै गरेको तिहारमा पनि यही अवस्था रहने निश्चित छ ।
यसपाली दशैं विदामा फिल्म रिलिज गरेर पैसा छाप्ने धेरै निर्माताको सपना अधुरो रहँदा निर्माता तथा निर्देशक शोभित बस्नेतले भने फिल्म ‘लक्ष्मी पूजा’ हलमा रिलिज नगरेरै पनि राम्रो नाफा कमाएका छन् । लकडाउनमा छायांकन गरिएको यो फिल्म फूलपातीमा डिसहोममा प्रदर्शनमा आएको थियो । अहिले डिसहोमलगायत विभिन्न डिजिटल प्लेटफर्ममा फिल्म प्रदर्शन भइरहेको छ ।
सलोन सलिना फिल्मस्को व्यानरमा निर्मित फिल्म ‘लक्ष्मी पूजा’ सानो बजेटमा बनेको हो । शोभितका अनुसार, बुढासुब्बाले फिल्मका लागि ३० लाख एमजी दिएको थियो । यसमा निर्देशक, कलाकार, प्राविधिक, पोस्ट प्रोडक्सनलगायतको खर्च जोडिएको छ । बुढासुब्बाले डिजिटल प्लेटफर्ममा फिल्म रिलिज गरेर ३० लाख उठाएपछि मुनाफाको आधा हिस्सा शोभितले पनि पाउनेछन् ।
कलाकार समेत रहेका शोभितले भने- ‘अहिले डिसहोस, नेट टिभी, मेरो टिभी, सेट म्याक्समा सःशुल्क फिल्म प्रदर्शन भइरहेको छ । यसको राइट्स बुढासुब्बासँग छ । सिनेमा हल खुलेपछि ‘लक्ष्मी पूजा’ हलमा पनि रिलिज हुन्छ । यसको अधिकार चाहिँ मेरो कम्पनीसँग छ ।’ कोरोनाका कारण काम नभएको अवस्थामा यो फिल्मबाट आफूलाई राम्रो नाफा भएको उनी बताउँछन् ।
समिर मियाँ निर्देशित फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहलगायतको अभिनय छ । फिल्मको एक गीतमा सलोन बस्नेत र रियाशा दाहाल फिचर छन् । फिल्मलाई सौरभ लामाले खिचेका हुन् । ‘लक्ष्मी पूजा’ ले दर्शकबाट राम्रो प्रतिक्रिया बुटलेका कारण बुढासुब्बाले आफूलाई अर्को फिल्म बनाउनका लागि पनि आग्रह गरेको निर्माता बस्नेतले बताए ।

