राजनीति र फिल्मको सम्बन्ध कस्तो रहन्छ ? यो विषयमा फिल्मकर्मीहरुको छुट्टाछुट्टै धारणा पाईन्छ । तर फिल्मको उत्पत्ति नै राजनीतिसँग जोडिएको पाईन्छ । ईतिहास हेर्ने हो भने कुनैबेला क्रुर शासक हिटलरले हलिउडलाई आफ्नो पकडमा पारेका थिए । तत्कालिन समयमा फिल्मका लागि सेन्सर बोर्ड नै उनी थिए भन्दा फरक पर्दैन ।

नेपाली फिल्मको ईतिहास खास पुरानो छैन । यद्यपी नेपालको फिल्म ईतिहासलाई हेर्ने हो भने पनि यो राजनीतिसँग जोडिएको छ । ईतिहासको कालखण्डलाई केलाउने हो भने राजपरिवारलाई सपोर्ट गर्दै फिल्म नेपालमा भित्रिएको थियो । अर्थात् नेपालको पहिलो फिल्मका राजपरिवारकै लगानी थियो । पछि पञ्चायती व्यवस्थाताका पनि नेपाली फिल्मलाई पञ्चायत पक्षधरहरुले आफ्नो शैलीमा चलाएका थिए ।
मनोरञ्जनको साधनको रुपमा मात्रै फिल्मलाई परिभाषित गर्ने जमात पनि पछिल्लो समय बाक्लिँदै छन् । तर अर्को एउटा धार छ जसले फिल्मलाई मनोरञ्जनको रुपमा मात्र हेर्दैन । तर समाज सुधारका लागि सामाजिक सचेतना फैलाउने एउटा माध्यमको रुपमा यसलाई लिन्छ । यस्तै धारणा राख्ने एक व्यक्ति हुन् फिल्म निर्देशक शिवजी लामिछाने ।
शिवजी लामिछानेको नेपाली फिल्मको यात्रा करिब २० वर्षको रह्यो । राजनीति गर्दागर्दै 'फ्रस्ट्रेड' भएर उनले ५० को दशकमा फिल्मतिर हाम फालेका थिए । तत्कालिन समयमा सूर्य बोहोरासँग मिलेर उनले ‘कान्छा’ नामको एउटा फिल्म बनाए । फिल्म चल्यो । यद्यपी राजनीतिबाट फिल्ममा छिरेका उनलाई राजनीतिको रंगले छाडिसकेको भने थिएन ।
‘मलाई राजनीति छाडेपनि राजनीतिक सन्देश सहितको फिल्म बनाउन मन लाग्यो । त्यसपछि मेरो तयारी शुरु भयो । स्क्रिप्टको काम शुरु भयो । र, फिल्मका लागि तयारी पुरा भयो,’ उनले फिल्म ‘आगो’को कुरा गरिरहेका थिए । फिल्मलाई नारायण पुरीले निर्देशन गरेका हुन् । सुशिल क्षेत्री र सारंगा श्रेष्ठ अभिनित ‘आगो’ तत्कालिन समयको निकै चलेको फिल्म हो । विषयवस्तुकै हिसाबले फिल्म निकै विवादमा समेत आयो । सरकारी तवरबाटै फिल्म प्रदर्शनमा रोक समेत लाग्यो ।
‘मैले बनाएका र निर्देशन गरेका सबै फिल्महरु विवादित नै भएका छन् । खोई किन हो यस्तो भैरहँदा म ‘विवादित मेकर्स प्लस डाईरेक्टर’ त होईन ? भन्ने लाग्छ,’ फिल्मको बारेमा विभिन्न किस्सा सुनाउँदै उनले भने । लामिछानेले पहिलो द्वन्दात्मक फिल्मको निर्देशन गरे । नेकपा माओबादी पार्टी नै निर्माता रहेको फिल्म ‘लालसलाम’ उनले निर्देशन गरेको फिल्म हो । यस्तै पछि द्वन्दसम्बन्धि नै अर्को फिल्म निर्देशन गरे ‘जलजला’ । फिल्मले तत्कालिन समयमा केहि चर्चा पनि पाएका थिए ।
शिवजीलाई लाग्छ, फिल्ममा मनोरञ्जन मात्रै खास कुरा होईन । नेपाली फिल्ममा देखिने गरेको ‘लार्जर देन लाईफ’ शैली उनलाई ठिक लाग्दैन । भन्छन्–‘यो त सरासर बलिउड शैली भैहाल्यो नी ।’ आफ्नै छिमलका र केहि नयाँ पुस्ताका निर्देशकहरु यो शैलीमै फिल्म बनाउन अभ्यस्त भएको कुरा उनलाई अलिक मन पर्दैन । फिल्म खासमा कस्तो हुनुपर्ने हो त ? प्रश्नमा उनी भन्छन्–‘यो त जीवनसँग नजिक हुनुपर्छ । जीवनको यथार्थ फिल्ममा देखिनुपर्छ ।’
शिवजीले निर्देशन गरेका फिल्म चाँहि के जीवनसँग नजिक छन् त ? ‘केहि हदसम्म म पनि चुकेको छु । यद्यपी अब बन्ने फिल्महरुमा त्यस्तो नहोस् भनेर म चलाख बन्ने प्रयत्न गर्दै छु । नेपाली फिल्मको पनि आफ्नै शैली हुनुपर्छ, बलिउड र हलिउडको जस्तै, मेरो चाहना यस्तै हो,’ फिल्मको बारेमा शिवजीको बुझाई पनि अलिक भिन्न देखियो । उनी आफुलाई राजनीतिक चेतनासहितको फिल्मकर्मीको रुपमा चिनाउन चाहन्छन् । राजनीतिक विषयवस्तुलाई व्यवसायिकता दिने प्रयत्नमा छन् उनी ।
शिवजीलाई थाहा छ राजनीतिक फिल्मले व्यवसायिक सफलता हासिल गर्न सकेका छैनन् र यो निकै गार्हो कुरा पनि हो । यो विषयलाई व्यवसायिकता दिनका लागि उनी फ्युजन (राजनीति र मनोरञ्जन) नीति अवलम्बन गर्ने तयारीमा छन् । ‘अहिले यौन, अंगप्रदर्शन जस्ता भद्दा कुरालाई मनोरञ्जन भन्दै बेच्ने काम भैरहेको छ । जुन कुराले नेपाली फिल्मको स्तरलाई नै खस्काईदिएको छ,’ उनको बुझाईमा पछिल्ला फिल्महरु यस्तै छन् । शिवजीलाई मनपर्ने निर्देशक बलिउडका प्रकाश झा हुन् । मन पर्नुको पनि कारण छ, त्यो हो झाले फिल्ममा राजनीतिक विषयवस्तुको उत्थान गर्छन् ।
‘नेपाली फिल्ममा तपाईको ग्याप त धेरै भयो नी ?’ कुराकानीको क्रममा सोधिएको प्रश्नमा शिवजी हल्का मुस्काए र भने, ‘हो केहि समय यता म फिल्मका लागि निष्क्रिय जस्तै भएँ । नेपाली फिल्मको बजार पनि त्यति राम्रो भएन । राजनीतिक रुपमा पुनः सक्रियता केहि बढ्यो । त्यसैले फिल्म निर्माणमा समय दिन सकिएन । तर अब म पुनः फिल्मलाई निरन्तरता दिन्छु ।’
कुराकानी लम्बिँदै जाँदा शिवजी अलिक फिल्मी शैलीमा प्रस्तुत भए । ‘जनयुद्धको विषयमा यसअघि बनेका फिल्मको स्टोरीलाईन सतहमा थियो । अब फेरी विषयवस्तु युद्धकै रोज्छु तर सुक्ष्म पात्र र विषय मेरो फिल्मको स्टोरीलाईन हुनेछ । भनौं न, स्क्रिप्टलाई बलियो बनाएर मात्रै फिल्म छायाँकनको कुरा हुन्छ,’ अझै बढि फिल्मी हुँदै उनले कुरा टुंगाए, ‘अहिलेसम्म लंग सटमा थिएँ अब एकैचोटी क्लोज सटमा हुनेछु ।’