मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.83/5.00)
Text size:-
+
-

`एक पटक फुल्ने गुलाबलाई ओईलाउन दिन्न` : अशिष्मा नकर्मी (नवनायिका)

फिल्मीखबर, काठमाण्डौ, 2013/01/23

आज धेरैले देख्ने गरेको सपनालाई आफूले साकार गर्न पाउँदा अशिष्मा नकर्मी निकै खुसी छिन् र गर्व पनि गर्छिन् । फिल्मको नायिका बन्ने सपना सानै उमेर देखि देख्दै आएकी अशिष्माले तीन वटा नेपाली फिल्ममा काम गरिसकेकी छिन् भने ८ वटा नेवारी फिल्ममा अभिनय गरिसकेकी छिन् ।

 

कक्षा १० मा पढ्दा नै म्युजिक भिडियोमा काम गरेकी अशिष्माले केहि थप म्युजिक भिडियो र नेवारी फिल्ममा काम गरे पश्चात पढ्नका लागि अमेरिका रोजिन । सन् २००७ मा पढ्नका लागि अमेरिका हानिएकी उनी ५ बर्ष भन्दा बढि बस्न सकिनन् । कारण एउटै छ, उनलाई फिल्मको मोहले नेपाल तान्यो । 'फिल्ममा काम गर्ने मेरो सानै देखिको रहर र प्यासन थियो त्यसैले अमेरिकालाई आफ्नो करियर बनाउने मुलुकको रूपमा रोज्न सकिन र नाम कमाउन नेपाल नै फर्कें', अशिष्माले भनिन्- 'अरूले अमेरिकाको सपना देखे तर मैले नेपालमा नै आफ्नो सपना पूरा गर्न खोज्दै छु ।'

 

रेडियो नेपालका अधिकृत तथा संगीतकार मनराज नकर्मीकी छोरी अशिष्मालाई फिल्म क्षेत्रमा आउन खासै संघर्ष गर्न परेन । पारिवारिक वातावरण नै कलासँग जोडिएकाले उनलाई यो क्षेत्रमा आउन सहज हुनु स्वाभाविक पनि हो । आफ्नै पिताको संगीतमा बनेको एउटा नेवारी गीतको म्युजिक भिडियोमा साईड डान्सर भएर काम गरेकी अशिष्माले सोही गीतको एल्बम कभरमा फोटो छापिए पछि आफ्नो करियर शुरू भएको बताईन् । अशिष्माले आफ्नो कला यात्राको पाना पल्टाउँदै भनिन्- 'फोटो छापिए पछि सबिन शाक्य र आर्यन नकर्मीले नेवारी फिल्म 'न्याल्ल ब्याँ' मार्फत डेब्यू गराईदिन सहयोग गर्नुभयो र मैले यसैबाट आफ्नो करियर शुरू गरे ।'

 

 

तेस्रो नेपाली फिल्म 'तोरी लाहुरे' को सुटिङ सेटबाट हतारिंदै दोस्रो फिल्म 'अन्तराल' को डबिङ गर्न आएका बेला फिल्मीखबरसँगको भेटमा अशिष्माले पहिलो नेपाली फिल्म 'सिक्स फिट लाईफ' बाट धेरै नयाँ कुरा सिक्ने मौका पाएको बताईन् । अभिनय गरेका आधा दर्जन भन्दा बढि नेवारी फिल्म भने रिलिज भईसकेपनि नेपाली फिल्मका लागि आफू परिपक्व हुन मेहनत गरिरहेको बताईन् । उनले भनिन्- 'हुनत यो फिल्ममा पहिलै जानेर सिकेर आउनु पर्छ तरपनि मैले जे जती जानेकी छु त्यसलाई पस्किंदै नयाँ कुरा सिक्दै दर्शकलाई निराश पार्न नदिने कोशिस गर्नेछु ।'

 

फिल्ममा हिरोईन नाचेको देखेर दंग पर्ने अशिष्मा पहिलो पटक फिल्मको सुटिङ हेर्न पाउँदा झनै दंग थिईन् । उनी स्मरण गर्छिन्- 'थानकोटको त्रिभुवन पार्कमा कृष्टी मैनाली चुमेर सुगन्धित फूल बोलको गीतमा नाचेको देख्दा मलाई पनि हिरोईन बन्ने इच्छा जागेको थियो । त्यो बेला कृष्टी दिदीको ठाउँमा मैले आफूलाई कल्पना गरेकी थिएँ । आज फिल्मका काम गर्दा साँच्चिकै जीवनमा केहि पाएको अनुभुती भएको छ ।' उनले आफूलाई मिथिला शर्मा र गौरी मल्लको अभिनयले प्रभाव पारेको समेत बताईन् ।

 

 

'म जन्मिदा करिष्मा मानन्धरको फिल्म सुपर हिट भएको थियो रे ! अनि आमा (आशा नकर्मी) ले करिष्मा दिदीको नामसँग आफ्नो नाम जोडेर अशिष्मा राखिदिनु भएको रे !', उनले भनिन्- 'घरको पूर्ण साथ रहेकाले पनि म आज यो क्षेत्रमा आएकी छु । सपना मेरो मात्र हैन मेरो परिवारको पनि हो । त्यसैले म सहित परिवारको सपना पूरा गर्न म संघर्षरत छु ।'