
११ बर्ष पछिको प्रेमलाई नायक यशराज गरचले बैबाहिक रूप दिंदैछन् । काठमाण्डौ स्थायी घर भएकी अञ्जना मिश्रसँग बिराटनगरका स्थायी बासिन्दा यशराजले माघ १९ गते बिबाह गर्न लागेको फिल्मीखबरलाई जानकारी दिए ।
'अझै एक/दुई बर्ष बिबाह गर्ने सोच त थिएन तर पारिवारिक आग्रहलाई नकार्न पनि सकिन र माघ १९ गतेको लगन जुराईएको हो', यशराजले आफ्नो बिबाहको बारेमा भने । पुतलीसडक ब्रान्चको नेपाल इन्भेष्टमेन्ट बैंकमा जागिरे रहेकी अञ्जनालाई यशराजले काठमाण्डौमा नै भित्र्याउने छन् । यशराजको मूल थलो भारतको गुजरात हो भने अञ्जनाको भारतकै बनारस हो । यशराजले बिबाहको रिसेप्सन पार्टी भने पौष १८ बाट सुटिङ शुरू हुन लागेको फिल्म 'नागबेली' सकिए पछि दिने बताए ।
'बिबाहको बेला सुटिङ पर्ने भएकाले फिल्म छोड्न लागेको थिएँ तर पछि निर्माण युनिटले ब्रेक दिने बताए पछि पौष १८ गतेबाट सुटिङमा जानेछु', यशराजले भने, 'निर्माण पक्षले १० दिनको ब्रेक दिने भएको छ ।' फिल्म नागबेलीलाई गोबिन्द राईले निर्देशन गर्दैछन् जसको मुख्य पात्र यशराज हुन् । यस्तै यशराजले बिबाह सकिए पछि अर्को एक अनटाईटल प्रोजेक्टलाइ पनि अगाडी बढाउने बताए ।