
सञ्चारकर्मीहरूको फिल्म प्रतिको मोह दिनप्रति दिन बढ्दो छ । कोही अभिनय तर्फ होमिएका छन् त कोही निर्देशन तर्फ । बिशेषगरी फिल्म पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरूमा यो झुकाव देखिन्छ ।
यहि भिडमा सचित खड्का पनि अगाडी बढेका छन् । लामो समयदेखि चर्चित टिभी कार्यक्रम रजतपटमा कार्यरत सचितले भर्खरै मात्र एक म्युजिक भिडियोको निर्देशन गरेका छन् । एफएममा समेत फिल्मी कार्यक्रम चलाउँदै आएका सचितले यमकुमार मल्लको एल्मब यममा रहेको किन किन बोलको गीतबाट भिडियो निर्देशनमा हात हालेका हुन् ।
पोखराको बाराही मन्दिर, लेकसाइड, फेवाताल लगायतका स्थानमा छायांकन गरिएको सो भिडियोलाई रजतपटका क्यामेरा म्यान राजन काफ्लेले गरेका हुन् । राजन पनि लामो समय देखि फिल्मसँग आवद्ध छन् । 'टिभी कार्यक्रम र केहि अध्ययनले निर्देशनको बाटो तय गरेको हो', सचितले भने, 'हेरौं भोलीका दिनमा फिल्म निर्देशन पनि गरिन्छ कि ।' उक्त म्युजिक भिडियोमा सन्तोष केशी, विष्णु र खुस्बु पौडेलले अभियन गरेका छन् ।